हाजिर जमानीमा छुटे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया

बुधबार, जेठ १६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपमा अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा रिहा भएका छन् ।  जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासत मुक्त गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिर जमानीमा छोडिदिएको सिरोहियाका वकिल रमन कर्णले बताएका छन् । 

सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट गत साता जेठ ८ गते मंगलबार प्रहरीले पक्राउ गरी नागरिकता सम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा लगेको थियो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

उनलाई गत शुक्रबार ११ गते उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि हिरासतबाट अस्पताल भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काब्या अस्पतालमा सिरोहियालाई सारिएको थियो । 

मुटुमा समस्या देखिएपछि मुम्बईमा एन्जिओग्राफी गराएका सिरोहियालाई काब्या अस्पतालले ललितपुरको मेडिसिटी अस्पताल रिफर गरेपछि जेठ १५ गते मंगलबार  ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

सहकारी ठगीलगायत विषयमा श्रृंखलाबद्ध प्रमाणसहित समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सिरोहिया पक्राउ परेको धेरैको आँकलन गरिएको छ । उनको पक्राउको विरोध पत्रकारहरुकै सबैभन्दा ठुलो संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) लगायत अन्तर्राष्ट्रिय मिडिया संगठन तथा मानव अधिकारवादी संगठनले विरोध गरेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्