साङ्लो बाधेर राखिएका एक युवाको बर्दियाबाट उद्दार

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

बर्दिया ।  केही महिनादेखि बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ बाट फलामे साङ्लो बाँधेर राखेका एक मनोरोगी युवालाई उद्धार गरी नेपालगञ्जस्थित मानवसेवा आश्रममा लगिएको छ । 

२७ बर्षीय ओमप्रकाश थारु बिगत ५६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रसित थिए । घरका सदस्यहरुले आर्थिक अभावका साथै अशिक्षाले गर्दा केही महिनादेखि उहाँलाई घरमै फलामे साङ्लो बाँधेर राखेका थिए ।

स्थानीयहरुले आफ्नै परिवारका सदस्यले घरमै फलामे साङ्लोले बाँधी बन्धक गराइराखेको भन्ने जानकारी दिएपछि मानव सेवा आश्रमको उद्धार टोली उद्धारको लागि पुगेको थियो । 

केही समय त्यहाँको अवस्था अवलोकन गरी बन्धक बनाइएका थारुलाई गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, वडा नम्बर ५ का वडा अध्यक्ष मुमबहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरिप्रसाद चौधरी र स्थानीयवासीहरुको रोहवरमा मानव सेवा आश्रम नेपालगञ्ज लगिएको हो। 

मनोचिकित्सकको सल्लाह बमोजिम थारुको औषधि उपचार सुरु गरिसकिएको मानव सेवा आश्रम बाँके जिल्ला संयोजक उर्विन सापकोटाले जानकारी दिए ।

मानव सेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन र उनीहरुको दिगो व्यवस्थापन गर्दै आइरहेको छ ।

नेपालगञ्ज १० स्थित आश्रममा हाल ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरी जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरु छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्