पत्रकार महासंघविरुद्ध कडा प्रतिकारमा उत्रियो प्रेस युनियन बाँके

सोमबार, जेठ १४, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पनि नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा गरेको विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिले जारी गरिएको सदस्यता सूचीप्रति गम्भीर आपत्ति प्रकट कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ।

प्रेस युनियन बाँकेले भनेको छ-"नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले चुनावको मुखमा आएर सदस्यता सूची सार्वजनिक गरेको छ। शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिद्धारा जारी गरिएको सूचिप्रति नेपाल प्रेस युनियन बाँके शाखा खेद प्रकट गर्दछ।"

शुद्धिकरणका नाममा गरिएको अत्यन्तै हचुवा, अपरिपक्वता, पूर्वाग्रही र राजनीतिक प्रेरित निर्णय प्रेस युनियन बाँकेलाई स्वीकार्य हुन नसक्ने अध्यक्ष प्रियास्मृति ढकालले बताए।

महासंघको शुद्धिकरणमा एउटै मापदण्ड लागू हुनुपर्नेमा त्यसो नगरी व्यक्तिको अनुहारका आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरालाई न्यायोचित मान्न नसकिने जनाउँदै कडा कदम चाल्न बाध्य हुने प्रेस युनियन बाँकेले जनाएको छ।

"महासंघको यहीँ जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी महासंघबाटै गरिएको यो हर्कतको प्रेस युनियन घोर निन्दा गर्दछ।" युनियनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै प्रेस युनियन बाँकेले घोर निन्दा गर्दै सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियासहितका सबै काममा अवरोध गर्ने चेतावनीसमेत दिदै महासंघबाट उत्पन्न गरिएको परिस्थितिको सबै जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने बताएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्