पत्रकार महासंघबाट सार्वजनिक भएको सदस्यता सूची अस्वीकार्य छ: नेपाल प्रेस युनियन

शाखाले पठाएको सदस्यता कायम गर्न माग
सोमबार, जेठ १४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति गम्भीर ध्यानाकर्षण भएको  जनाएको छ । 

युनियनले आज विज्ञप्ति जारी गर्दै भनेको छ-"अध्यक्ष र महासचिवले महासंघको विधान अनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक गरेको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्दछौं।"

महासंघका अध्यक्ष र महासचिवले सक्रिय पत्रकारहरुलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको युनियनले  ठहर गर्दै यस कार्यको घोर आपत्ति गरेको जनाएको छ।

साथै महासंघको विधान र महाधिवेशनको म्यान्डेड अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासंघकै संगठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो ।

"विधान, विधि, प्रक्रिया अनुसार नेपाल पत्रकार महासंघकै शाखाहरु र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न युनियन माग गर्दछ" महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस युनियनले आपत्ति जनाउँदै  सदस्यता विवाद निरुपण नगरी युनियनको आग्रहलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढेमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं नेपाल पत्रकार महासंघ नै हुनुपर्ने जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्