व्यक्तिकै नाम तोकेर सहकारी प्रकरणको संसदीय छानबिन समिति गठन हुनैपर्ने कांग्रेसको अडान

आइतबार, जेठ १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवासहित कांग्रेस नेताहरूबिच भएको छलफल पनि विना निष्कर्ष सकिएको कांग्रेस नेता जीवन परियारले जानकारी दिए । देउवासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गत्यवरोध अन्त्य गर्न विकल्पहरूबारे सोच्न कांग्रेसलाई आग्रह गरेका थिए । 

बैठकपछि कांग्रेस सहमहामन्त्री  परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । कम्तिमा त्यहाँ संलग्न व्यक्तिहरु कोको हुन् भन्नेबारेमा पनि उल्लेख नगरिकन छानबिन हुन सक्दैन भन्ने हाम्रो अडान कायमै छ ।’

कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो ।

तर, सत्ता पक्षका नेताहरुले संस्थाको नाम उल्लेख गरेपछि व्यक्तिको नाम उल्लेख गर्न नपर्ने अडान राखेका छन् । त्यसमा कांग्रेस सहमत छैन ।

सहकारी प्रकरणमा कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताको तहमा छलफल भएको हो । यद्यपि आइतबारको छलफलमा एमाले अध्यक्ष ओली भने अनुपस्थित रहेका थिए । आजै सरकारले संसदबाट नीति तथा कार्यक्रम पास गर्ने तयारी गरेको छ भने प्रतिपक्षले संसद् अवरोध जारी राख्ने जनाएको छ ।

कार्यदल सदस्यहरूका अनुसार आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताहरूबिच पुन छलफल गर्नेबारे छलफल भए पनि समय तय भइसकेको छैन ।

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्