आज आईपीएल फाइनल, केकेआर र हैदराबाद भिड्दै

आइतबार, जेठ १३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज इन्डियन प्रिमियर लिग( आईपीएल) को फाइनलमा कोलाहल नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदराबाद भिड्दै छन् ।आईपीएल टी–२० क्रिकेटको १७ औं  संस्करणको फाइनल खेल आज  खेल बेलुकी ७ः४५ बजेदेखि चेन्नईको मैदानमा हुन लागेको हो । 

पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित भएको हैदराबाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै फाइनलमा पुगेको हो । 

राजस्थानले प्लेअफमा रोयल च्यालेन्जर्स बैंगलुरूलाई हराएर दोस्रो क्वालिफायरमा ठाउँ बनाएको थियो । 

अहिलेसम्मका १६ संस्करणको लेखाजोखा गर्ने हो भने लिग चरणको दोस्रो स्थानमा रहेको टिमले आठ पटक उपाधि जितेको छ । शीर्ष स्थानमा रहेको टिमले ५ पटक, तेस्रो स्थानमा हुने टिमले २ पटक तथा चौथो स्थानमा लिग सकाएको टिमले एक पटक उपाधि जितेको छ । 

सनराइजर्स हैदराबादले सन् २०१६ मा चौथो स्थानमा लिग सकाएको भए पनि उपाधि जितेको थियो । यसपालि पहिलो स्थानमा रहेर लिग सकाएको कोलकाता र दोस्रो स्थानमा रहेको हैदराबादबीच उपाधि भिडन्त हुँदै गर्दा इतिहासले जित्ने बढी अवसर हैदराबादलाई प्रदान गरेको छ । 

फाइनलमा टस जित्ने टिमले ६२.५ प्रतिशत जित हासिल गरेको कीर्तिमान छ । १६ खेलमा १० फाइनल टस जित्नेले नै जितेको इतिहास छ । 

आधा भन्दा बढी फाइनल खेल रन पछ्याउने टिमले जितेको छ । फाइनलमा अहिलेसम्म २०० भन्दा बढी रनको चुनौती कसैले पछ्याउन सकेको छेन । 

सन् २००८ देखि सुरु भएको आईपीएलमा सर्वाधिक सफल दुई टिम मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले समान ५–५ पटक उपाधि जितेका छन् । 

कोलकाता नाइट राइडर्सले २ पटक तथा सनराइजर्स हैदराबाद, गुजरात टाइटान्स, राजस्थान रोयल्स र डेक्कन चार्जर्सले १ पटक उपाधि जितेका छन् । 

कोलकाताले २० तथा हैदराबादले १७ अंक हासिल गरेको हो । १७ अंक नै भए पनि राजस्थान रोयल्समाथि रनरेटमा ०.१४१ ले अगाडि रहँदै हैदराबाद दोस्रो स्थानमा रहेको हो । त्यस्तै रनरेटमा अगाडि रहँदै रोयल च्यालेन्जर्स बैंगलुरू चौथो हुँदै प्लेअफमा पुग्यो । 

यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो । 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्