नेपालगञ्जका शिक्षकहरुलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम

शनिबार, जेठ १२, २०८१

नेपालगञ्ज । नेपालगञ्जका शिक्षकहरुलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पाँच दिनसम्म सञ्चालित तालिममा २० जना शिक्षकहरुको सहभागिता थियो । 

तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक समस्या, यसका कारण, लक्षण र प्रभाव, मानसिक जनस्वास्थ्य, मनोसामाजिक सहयोग, मनोसामाजिक मनोविमर्श, मनोसामाजिक सहयोगको क्षेत्रमा शिक्षकहरुमा हुनुपर्ने गुण, मनोसामाजिक सहयोगका सिद्धान्त, मनोसामाजिक सहयोग ढाँचा, तनाव व्यवस्थापन सीप लगायतका विषयमा प्रशिक्षक प्रकाश घिमिरेले सहजीकरण गरेका थिए । महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डे, शिक्षा शाखाका अधिकृत भिम बहादुर बुढा समेतले तालिममा सहजीकरण गरेका थिए । पालिकाले सबै विद्यालयमा लैंगिक सम्पर्क ब्यक्ति तोकी पहिलो चरणमा माध्यमिक तहका शिक्षकहरुलाई तालिम दिएको हो ।

तालिम समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा र प्रशिक्षक घिमिरेले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । त्यसक्रममा बोल्दै प्रशिक्षार्थी ऋचा श्रेष्ठ र कोमलराज खनालले तालिम निकै उपलब्धिमूलक भएको बताए । समापन कार्यक्रममा वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसी, प्रशासन प्रमुख इन्द्र केसी, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीको पनि उपस्थिति थियो । 

नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ। सुपरको सहयोगमा नेपालगञ्जमा विपद पूर्व तयारी तथा प्रतिकार्य लगायत विभिन्न गतिविधिहरु भइरहेका छन । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्