बाँकेमा मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान

शनिबार, जेठ १२, २०८१

नेपालगञ्ज । बाँकेमा यस बर्ष मनसुनजन्य विपदबाट १५ हजार परिवार प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले यही पूर्वानुमानका आधारमा तयार पारिएको मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ लाई अनुमोदन गरेको छ । 

समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले बाँकेमा यस बर्ष सबैखाले विपदबाट २५ हजार घरपरिवारका १ लाख ५० हजार मानिस प्रभाावित हुन सक्ने आंकलन गर्दै त्यसका आधारमा तयार भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजनालाई प्राप्त सुझाबका आधारमा थप परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहलाई विपद विरुद्ध पूर्व तयारीमा राख्न सबै स्थानीय तहहरुले अबिलम्ब आ-आफ्नो विपद पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने निर्णय गरेको छ । यस्तै मनसुनजन्य विपदका घटनाहरुमा प्रभावकारी प्रतिकार्यका लागि योजनाहरुको परीक्षण तथा स्रोत साधन र जनशक्ति परीक्षण तथा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन बाढीजन्य विपदसंग सम्बन्धित कृत्रिम घटना अभ्यास गरिने भएको छ । जेष्ठ २३ गते विश्व वातावरण दिवसको अवसरमा नेपालगञ्जको  वाटरपार्कमा नेपाली सेनाको अगुवाईमा घटना अभ्यास गर्ने निर्णय गरिएको छ ।

जिल्ला आपतकालीन सञ्चालन केन्द्र तथा स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरुलाई अझै बढी सक्रिय र चलायमान बनाउने तथा सम्भावित विपदका घटनाहरुका विषयमा आम सर्वसाधारणलाई समयमै जानकारी गराउने व्यवस्था मिलाउने निर्णय पनि जिल्ला व्यवस्थापन समितिले गरेको छ । जानकी र बैजनाथ गाँउपालिकालाई अविलम्ब स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी कार्य गर्न अनुरोध गर्ने निर्णय पनि भएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

नेपाल रेडक्रस सोसाइटी, बाँके जिल्ला शाखा र बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको 'लू' प्रतिकार्य परियोजनाको प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै स्थानीय तहहरु र सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवाली जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्