बाँकेमा ३५ हजारलाई 'आइभिपी' खोप

बिहीबार, जेठ १०, २०८१

बाँके । बाँके जिल्लाभर ३५ हजार ७ सय ५ बालबालिकालाई पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप लगाइँदैछ । त्यसका लागि २ सय ४३ वटा खोप केन्द्र तोकिएको छ । यस्तै २ सय ४३ जना खोप दिने स्वास्थ्यकर्मी र ४ सय ८६ जना स्वास्थ्य स्वयमसेवक परिचालन गरिनेछ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा वि.सं. २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको  हो । सकेसम्म २४ गतेभित्र लक्षित सम्पूर्ण बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको खोप संयोजक नरेश श्रेष्ठले जानकारी दिए । उनले ८ वटै पालिकामा एकैसाथ खोप सञ्चालन हुने पनि जानकारी दिए । नेपालगन्जमा ९ हजार १ सय २९, डुडुवामा १ हजार ९ सय ६३, कोहलपुरमा ८ हजार, जानकीमा २ हजार १ सय २३, खजुरामा ४ हजार ९ सय ६१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । त्यसैगरी बैजनाथमा ३ हजार १ सय ३१, राप्तीसोनारीमा ३ हजार २ सय ३१ र नरैनापुरमा ३ हजार १ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

नेपालगन्जका मेयर  प्रशान्त विष्टले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेका छन्  । उनले कुनै पनि बालबालिकाहरु खोपबाट बञ्चित हुन नहुनेमा जोड दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेलाई पोलियोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्  । स्वास्थ्य कार्यालयका प्रमुख अंगत बहादुर शाहीले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्  ।

पोलियो भएकामध्ये ३ प्रतिशत बालबालिकालाई पक्षघात हुने र त्यसको उपचार नभएकाले सङ्क्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्