व्यक्तिगत र राजनीतिक प्रतिशोधले कैलाश सिरोहियालाई पक्राउ गर्न लगाइयो: सांसद गिरी

मंगलबार, जेठ ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक गिरीले सरकारी संयन्त्रको दुरूपयोग गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध  हालै पक्राउपूर्जी जारी गर्न पक्राउ गरिएको कलंकित कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनामा प्रतिशोधका भावहरु झल्किएको बताउँदै सांसद गिरी देशको एउटा अग्रणी सञ्चारमाध्यमले गरिरहेको पारदर्शी पत्रकारितामाथि गृहमन्त्री र उहाँको जत्थाले निरंकुश र कलंकित रूपमा आक्रमण गरिरहेको हुँदा  त्यसप्रति हाम्रो गम्भीर आपत्ति रहेको जनाएका छन् ।

के भनेका छन् सांसद गिरीले- 

"सिरोहियालाई नागरिकता किर्ते गरेको कसुर लगाइएको छ।  कसुर जे सुकै  होस्, कानून विपरित कसैलाई पनि गैह्रकानूनी काम गर्न छुट छैन। हरेक नागरिकका लागि कानूनी दायराहरू समान छन्। जो हाम्रो संविधानले नै ग्यारेन्टी गरेको कुरा हो। तर, अहिलेका राजनीतिक दृश्य र परिदृश्यहरू लज्जाजनक रूपमा छताछुल्ल छन् । पहिलो कुरा त यो एउटा व्यक्तिको कसुर होला वा नहोला तर यसलाई जसरी भएपनि कसुरै सावित गर्न जसरी एउटा राष्ट्रियस्तरकै राजनीतिक पार्टीको नेतृत्व नै मरिमेटेर लाग्यो । अझ त्यसमा पनि सरकारका गृहमन्त्री नै यसमा लाग्नुभयो,  त्यसमा  सरासर प्रतिशोधकै भावहरू झल्किन्छन्।"

त्यस्तै यसअघि पनि हामीले सुनेकै हो, प्रत्यक्ष सिरोहियामाथि नै गृहमन्त्रीले नामै किटाएर आलोचना गर्नु भएको थियो। तत्पश्चात्, गृहमन्त्री रवी लामिछानेको  दोहोरो राहदानी, सहकारी ठगी सम्बन्धी समाचारहरू आउन थालेपछि गृहमन्त्री झनै हतास् हुनु भयो। अहिले पनि हामीले देखेकै छौँ, देशको एउटा अग्रणी सञ्चारमाध्यमले गरिरहेको पारदर्शी पत्रकारितामाथि गृहमन्त्री र उहाँको जत्थाले निरंकुश र कलंकित रूपमा आक्रमण गरिरहेको छ, त्यसप्रति हाम्रो गम्भीर आपत्ति छ । 

कानूनको  नजरमा सबै बराबर हुनुपर्छ । कसुर गर्ने कसैलाई पनि छुट दिनु हुँदैन । त्यसो त, हामी कानूनी  शासनलाई शिरोधार्य गरेका नागरिक र राजनीतिक दल हौँ । विधि र प्रक्रियाबाट दोषी भए कानून बमोजिम कारबाहीको भागदार हुनुपर्छ। तर, कानूनी कारबाहीको नाममा कुनै पनि व्यक्तिगत रिसईबी  वा प्रतिशोधको लागि सरकारी सत्ताको दुरूपयोग गर्नु हुँदैन भन्ने हाम्रो सिद्धान्त हो। आफूँमाथि  उठेका प्रश्नबाट भाग्न राज्यशक्तिको दुरूपयोग गर्ने अधिकार कसैलाई पनि छैन, चाहे त्यो गृहमन्त्री होस् या प्रधानमन्त्री ! 

लोकतन्त्रमा मिडिया भनेका जनता र शासक बिचका पुल हुन । जनताका गुनासा र समस्या बुलन्द गर्ने शक्तिशाली खम्बा मिडिया हुन। अत: देशको अग्रणी सञ्चार संस्था  कान्तिपुर पब्लिकेसनमाथि निरंकुश रूपमा हमला गर्नु, विश्वव्यापी मानवाधिकारको हनन् , सिङ्गो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि चंगुल  लगाउने कलंकित कार्य हो। व्यक्तिगत र राजनीतिक प्रतिशोधका आधारमा कान्तिपुरका अध्यक्षलाई पक्राउपूर्जी जारी गरेर पक्राउ गरिएको हुँदा हामीलाई यस्तो घृणित र कलंकित कार्य कदापि सह्य  र मान्य हुने छैन। प्रेसको मुख थुन्नका लागि कपोकल्पित व्यक्तिगत कसूरहरू देखाएर, सरकारी संयन्त्रको दुरूपयोग गरी जबरजरजस्ती  मुद्दा स्थापित गर्ने कलंकित कार्यप्रति हामी घोरआपति व्यक्त गर्दछौँ ।

सिरोहियालाई आज साँझ कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयबाट अपराध अनुसन्धान कर्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको टोलीले पक्राउ गरेको थियो।

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २२:३७
प्रतिक्रिया दिनुहोस्