दंगीशरणमा ७ सय किसानका जग्गाको माटो परीक्षण

मंगलबार, जेठ ८, २०८१

प्रमोद आचार्य /दाङ । नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही-१५ को साझेदारी, दंगीशरण गाउँपालिका र हेफर  नेपालको प्राविधिक सहयोगमा ४ दिने माटो परीक्षण शिविर आजदेखि दंगीशरण गाउँपालिकामा सुरु भएको छ ।

गाउँपालिकाका ७ वटै वडाबाट माटोको सेम्पल माग गरी कृषि कार्यालयबाट करिव ७ सय किसानको जग्गाको माटो परीक्षण गर्ने अनुमान सहित माटो परीक्षण शिविर आयोजना गरिएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिएकी छिन् ।

कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था  मन्त्रालाय कृषि विकास निर्देशनालय माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेको प्राविधिक टोलीले माटो परीक्षण गर्ने कृषि शाखा प्रमुख भुषालले बताइन् ।

माटो परीक्षण शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले माटो परीक्षण शिविरले कृषि क्रान्तिको सुरुवात भएको महसुस भएको बताए । कृषि उत्पादनमा वृद्धि गर्नपनि माटो परीक्षण अपरिहार्य रहेको अध्यक्ष गिरीको भनाइ थियो।

माटोमा गुमेको तत्वलाई पुन: ल्याउनलाई किसानले आफ्नो माटो प्राविधिकसँग लगेर माटोलाई पहिलेकै अवस्थामा ल्याउन किसानहरु जागरुक भएको देख्दा खुशी लागेको अध्यक्ष गिरीले बताए । कृषिप्रधान देश भनेर चिनिने हाम्रो देशमा पछिल्लो समयमा कोदो फापर जस्ता बस्तुपनि आयात गर्नुपर्ने अवस्था आएकोप्रति अध्यक्ष गिरीले दुख व्यक्त गरे।

गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले हामी किसान भएपनि खेतीपाती कसरी गर्ने भन्ने कुरा सम्म  थाहा नपाएका हामीलाई माटो परीक्षणले सहयोग गर्ने बताइन् । कुन बाली कहाँ र कस्तो ठाउँमा लगाउने भन्ने कुरा कृषि प्राविधिकको सल्लाह अनुसार गर्नुपर्ने उपाध्यक्ष खड्काको भनाइ थियो । बालीमा आएको ह्रासलाई कम गर्दै कृषि उत्पादनमा वृद्धि गर्न आफुहरु सक्रिय रुपमा लागेको उपाध्यक्ष खड्काले बताइन्  ।

यस्तै कृषि शाखा प्रमुख भुषालले माटोलाई चाहिने भिटामिन र रासायनिक मलको मात्रा अनुकुलित तवरले प्रयोग गर्नपनि माटो परीक्षण आवश्यक हुने बताइन्  ।

फिल्ड गएर कस्तो माटोमा कस्तो बाली लगाउने र माटो कसरी चेक गर्ने भन्ने कुराहरु आफुहरुले वडा वडामा पुगि किसानहरुलाई सिकाउँदै आएको प्रमुख भुषालले भनिन्  ।

माटो परीक्षण शिविर वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष खड्काको विशिष्ट  आतिथ्यतामा  माटो परीक्षण शिविरको औपचारिक उद्घाटन गरीएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्