आईपीएलको पहिलो क्वालिफायरमा केकेआर र हैदरावाद, इलिमिनेटरमा आरआर र आरसिबी भिड्ने

सोमबार, जेठ ७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० को प्लेअफको समीकरण पूरा भएको छ। आईपीएलको लिग चरणको अन्तिम दोस्रो खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई पराजित गरेको र शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्स(केकेआर) र राजस्थान रोयल्स (आरआर) को खेल वर्षाले स्थगित भएपछि प्लेअफको समीकरण पूरा भएको हो।

आईपीएलमा जसअनुसार कोलकाता र सनराइजर्स हैदरावाद क्वालिफायरमा स्थान बनाए भने अधिकांश समय अंक तालिकाको शीर्ष स्थानमा रहेको राजस्थान भने प्लेअफमै सीमित भयो । अब राजस्थानको भिडन्त इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरू(आरसिबी)सँग हुनेछ । बैंगलुरूले लिगका पछिल्ला सबै ५ खेल जितेर प्लेअफमा ठाउँ बनाएको हो । 

यसले गर्दा उसको क्वालिफायरमा पुग्ने सम्भावना पनि बलियो छ । इलिमिनेटरमा जित हासिल गर्ने टिमले दोस्रो क्वालिफायरमा ठाउँ बनाउने छ । इलिमिनेटरमा हार्ने टिम बाहिरिने छ । 

पहिलो क्वालिफायरमा पराजित हुने टिम र इलिमिनेटरमा जित हासिल गर्ने टिमबीच फाइनलका लागि दोस्रो क्वालिफायर हुनेछ । पहिलो क्वालिफायरमा जित्ने टिम सिधै फाइनलमा पुग्नेछ । 

यसपालि ५ पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो ।  त्यस्तै अर्को ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो । 

अंक तालिका

१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रहेका छन्  । 

१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।  आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो । 

अब हुने खेलहरु-

पहिलो क्वालिफायरमा मंगलबार कोलकाता र हैदराबाद भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजेदेखि अहमदाबादमा हुनेछ । 

इलिमिनेटर खेलमा बुधबार राजस्थान र बैंगलुरू खेल्दैछन् । खेल ७ः४५ बजे नै अहमदाबादमा हुनेछ । 

दोस्रो क्वालिफायर खेल शुक्रबार चेन्नईमा हुनेछ । पहिलो क्वालिफायरको पराजित टिम र इलिमिनेटरको विजेता टिमबीच दोस्रो क्वालिफायर हुनेछ । 

फाइनल खेल आइतबार चेन्नईमा हुनेछ । यो खेल पनि बेलुकी ७ः४५ बजे नै शुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्