एमाले बाँकेको अध्यक्षमा निरक, उपाध्यक्षमा रत्न र उपसचिवमा किशोर निर्वाचित

सोमबार, जेठ ७, २०८१
Neuro hospital Nepalgunj

बाँके  । निरक गुरुङ नेकपा एमाले बाँकेको अध्यक्षमा निर्वाचित भएका छन् । उनले डिल्ली विसीलाई पराजित गरेका हुन् । गुरुङले २९१ मत र डिल्ली विसीले १५४ मत प्राप्त गरेका छन्  ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष किष्मतकुमार कक्षपतिले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर गुरुङलाई सघाउने घोषणा गरेका थिए । 

उपाध्यक्षमा रत्न खत्री निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री समेत रहेका खत्रीले रविन्द्र लम्साललाई पराजित गरेका हुन् । खत्रीले ३१३ मत पाउँदा लम्सालले १३२ मत मात्र पाए । यस्तै सचिवमा बलराम भट्टराई निर्वाचित भएका छन् । भट्टराई १४० मत पाएर निर्वाचित भए । उनले खिलप्रसाद भुषाल, दत्तप्रसाद आचार्य र भिम ओलीलाई पराजित गरेका हुन् । भुषालले ११७, ओलीले ९५ र आचार्यले ८८ मत ल्याए । यसैगरी उपसचिवमा किशोर थापा र निर्मला सुनार निर्वाचित भएका छन् ।

नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनमा अन्तर्गत आइतबार बेलुका गराइएको निर्वाचनमा ४ सय ५८ मत खसेको थियो । कुल ४ सय ६६ मतदाता रहेकोमा ४ सय ५८ खसेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मतदान गराइएको हो ।

अधिवेशनको एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । अधिवेशनले तीन बर्षीय कार्यकालका लागि १२० सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्