मनमैजुमा मृत फेला परेका ट्राफिक जवानको लागूऔषध सेवनकर्ताले गरेका थिए हत्या

आइतबार, जेठ ६, २०८१

काठमाडौं । काठमाडौंको मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवानको हत्या भएको पुष्टि भएको छ। ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जवान घिमिरेको हत्या लागूऔषध सेवनकर्ताले गरेको खुल्न आएको जनाएको छ। पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ।

खोटाङ मजुवागढी गाउँपालिका-१ घर भएर दरबारमार्ग प्रहरी प्रभागमा कार्यरत रहेर हाल कोठा लिएर सामाखुसी बस्दै आएका जवान घिमिरेको शुक्रवार साँझ तार्केश्वर नगरपालिका-९ मनमैजुमा निर्माणाधीन दुई तले घरको भुइँ तलामा  मृत फेला परेका थिए। उनी बिहीवार ड्युटी सकेर साँझ मनमैजु गएका थिए।

प्रहरीले जवान घिमिरेको हत्यामा सोधपुछका लागि २१  जनालाई पक्राउ गरेपनि हत्या घटनामा ६ जनाको संलग्ता रहेको पुष्टि भएपछि ६ जनालाई हिरासतमा लिएर अरु बाँकिलाई रिहा गरेको थियो।

अनुसन्धानमा खटिएको टोलीका एक अधिकृतका अनुसार उक्त निर्माणाधीन घर लागूऔषध प्रयोगकर्ताको अखडा रहेको र मृतक जवान बेलाबेलामा त्यहा जाने गरेको हुँदा विवादका क्रममा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताए।

स्थानीयहरुले पनि  बन्दै गरेको उक्त घरको भुइँ तलामा अवाञ्छित गतिविधि हुँदै आइरहेको बताएका छन् । उनीहरुका अनुसार त्यहा धेरैजसो युवायुवती आएर अवाञ्छित गतिविधि गर्दै अएका थिए। 

उक्त स्थानमा हुने अवाञ्छित गतिविधिका बारेमा स्थानीयहरुले पहिला पनि प्रहरीलाई खबर गर्ने गरेको र प्रहरी आउँदा त्यहा आउने युवायुवती पहिलानै कुलेलम ठोक्ने गरेको स्थानीयहरु बताउँछन् । तर पछि प्रहरीले कुनै चासो नदिने गरेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्