सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । हालै इजरेलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू वर्षेनी बढ्दै जाने बताएका छन् ।”
कृत्रिम बौद्धिकता (एआई)को आगमनसँगै विश्वमा साइबर क्राइमको वृद्वि भइरहेको छ । साइबर क्राइमको एक प्रकार हो, जसमा कम्प्युटरलाई अपराधको वस्तुको रुपमा लिइन्छ। साइबर क्राइम भनेको कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो । अर्थात साइबर क्राइमलाई इन्टरनेट र डिजिटल यन्त्रहरूमार्फत कानूनद्वारा निषेध गरिएको अरूको निजी ठाउँमा गएर आपत्तिजनक सामग्री र दुर्व्यवहारको माध्यमबाट सञ्चालित गैरकानूनी गतिविधिहरू भनेर परिभाषित गर्न सकिन्छ । बढ्दो प्रविधिको प्रयोगले मानिसको जीवनलाई अत्यन्तै सहज बनाए पनि यसको सही सदुपयोग नहुँदा यसले समाजमा विकृति पैदा गरिरहेको छ ।
इजरेलको अर्थतन्त्रले साइबर आक्रमणका कारण वार्षिक १२ अर्ब डलर नोक्सान बेहोरेको देशको राष्ट्रिय साइबर निर्देशनालयले जारी गरेको नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको रकम छोटो अवधिमा आक्रमणबाट हुने क्षतिलाई सम्हाल्ने लागतहरूको विश्लेषणमा आधारित रहेको छ । साइबर आक्रमणबाट राष्ट्रिय उत्पादनमा परेको ठूलो आर्थिक भार र अर्थतन्त्रमा हुने नोक्सानी पहिलोपटक तथ्यांकले देखाएको एएनआईले उल्लेख गरेको छ ।
भियतनामको प्रहरीले हालै घरेलु र अन्तर्राष्ट्रिय रूपमा हजारौं फेसबुक खाताहरू चोरी गरी नियन्त्रणमा लिएको आरोपमा २० जनालाई पक्राउ गरेको छ । यसबाट उनीहरूले झन्डै ४० लाख डलर नाफा कमाएका छन् । भियतनामी अनलाइन समाचारपत्र भिएनई एक्सप्रेसका अनुसार २५ हजारभन्दा बढी उच्च–मूल्य व्यापार खाताहरू अधीनमा लिन मालवेयर फैलाएको आरोप छ । मालवेयर भनेको प्रयोगकर्ताको सहमतिबिना कम्प्युटरमा स्थापना गरिएको सफ्टवेयर हो जसले पासवर्ड वा पैसा चोर्ने जस्ता खराब कार्यहरू गर्दछ ।
मालवेयर पत्ता लगाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा सामान्य खराब फाइलहरू वा प्रोग्रामहरूका लागि कम्प्युटर स्क्यान गर्नु हो । यो समूहको नेतृत्व ३१ वर्षीय दाङ डिन्ह सनले गरेको विश्वास गरिन्छ । उनले फेसबुक प्रयोगकर्ताको खाताको जानकारी चोर्नका लागि ४१ हजार दुई सय डलरको मालवेयर स्रोत खरिद गरेका थिए । यो मालवेयर प्रयोग गरी दुई फोटो सम्पादन साइटहरू ‘आर्ट बे एआई’ र ‘इभोटो स्टुडियो’सँग सम्बन्धित दुई लोकप्रिय फेसबुक फ्यान पृष्ठहरू नियन्त्रण गर्नका लागि प्रयोग गरेको त्यहाँको मिडियाले जनाएको छ ।
आर्ट बे एआई (कृत्रिम बुद्धिमत्ता कला)डिजिटल कलाको कुनै पनि रूप हो जुन एआई उपकरणहरूद्वारा सिर्जना वा परिष्कृत गरिन्छ । इभोटो स्टुडिया अर्को पुस्ताको फोटो रिटचिङ उपकरण हो । यसले फोटो सम्पादनका विभिन्न पक्षहरूलाई स्वचालित र वृद्धि गर्न उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिहरू प्रयोग गर्छ । त्यसपछि तिनीहरूले फेसबुक प्रयोगकर्ताहरूलाई एउटा अनुप्रयोग डाउनलोड र स्थापना गर्न प्रलोभन दिएर यसको मालवेयरले प्रयोगकर्ताहरूको उपकरणहरूमा प्रवेश गर्नेछ ।
चोरी भएको डाटा सङ्कलन गरी सनद्वारा नियन्त्रित सर्भरमा फिर्ता पठाइयो र त्यसपछि टेलीग्राममा पाँच समूहहरूमा वितरण गरियो, ताकि उसको टोलीका सदस्यहरूलाई प्रयोगकर्ता खाताहरू अपहरण गर्न अनुमति होस् । गिरोहले नाफाका लागि उच्च मूल्यका फेसबुक खाताहरू बेचेको थियो । कम मूल्यका अन्य खाताहरू इ–कमर्स प्लेटफर्महरूमा कपडा र अन्य वस्तुहरू बेच्न विज्ञापनहरू चलाउन प्रयोग गरियो । त्यसबापत अभियुक्तले ३८ लाख डलर कमाएको थियो। अप्रिलसम्म भियतनाम फेसबुक प्रयोगकर्ताहरूको कुल संख्याको आधारमा विश्वमा सातौं स्थानमा रहेको समाचार ऐजेन्सी एएफपीमा उल्लेख भएको थियो ।
यस्तै एउटा वेबसाइट जसले अन्तर्राष्ट्रिय साइबर ठगीकर्ताहरूलाई ७० हजार ब्रिटिस पीडितहरूलाई बैंक खाता विवरण र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारीहरू प्रकट र ठगी गर्न अनुमति दिएको लन्डन प्रहरीले बताएको छ । उनीहरूले ल्याबहोस्ट साइट कब्जा गरेको थिए, जसले दुई हजारभन्दा बढी अपराधीहरूलाई ‘फिसिङ’ साइटहरू सिर्जना गर्न सक्षम बनाएको छ । फिसिङ एक प्रकारको सोसल इन्जिनियरिङ आक्रमण हो, जुन प्रायः लगइन प्रमाणहरू र क्रेडिट कार्ड नम्बरहरूसहित प्रयोगकर्ता डेटा चोरी गर्न प्रयोग गरिन्छ । यसले पीडितहरूलाई चार लाख ८० हजार बैंक कार्ड नम्बरहरू र ६४ हजार नम्बरहरू प्रकट गर्न पाएको छ ।
बेलायत र विदेशमा कानून प्रवर्तनले अप्रिलदेखि ३७ जनालाई गिरफ्तार गरेको र अन्य आठ सय जनाले पुलिसलाई उनीहरूको पहिचान थाहा छ भनेर चेतावनी दिइएको थियो । तीमध्ये धेरैको अनुसन्धान जारी रहेको छ । बेलायती प्रहरीले हजारौँको व्यक्तिगत डाटा चोरी गर्ने साइबर जालसाजी नेटवर्कलाई अवरुद्ध गरेको छ । साइटले ४० हजार घोटाला साइटहरू सेट अप गर्न एक सय ७० कम्पनीहरूको प्रोफाइलहरू प्रयोग गर्न कम प्राविधिक जानकार प्रयोगकर्ताहरूका लागि टेम्प्लेटहरू र कसरी गर्ने पाठ प्रदान ग¥यो । पुलिसले २५ हजार बेलायतका पीडितहरूलाई उनीहरूको डेटा सम्झौता भएको बारे सूचित गरेको समाचार ऐजेन्सी एपीले प्रकाशित गरेको छ ।
डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकहरुमा यो समस्या अझ विकराल बन्दैछ । नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ । मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ । सेक्स टोसन अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न तस्बिरहरू वा भिडियोहरू फोनमा साझा गर्न प्रलोभन दिन्छ र प्रेरित गर्दछ । धेरै अवस्थामा व्यक्ति डेटिङ एप्स वा वैवाहिक वेबसाइटहरू र एपहरूमार्फत अज्ञात व्यक्तिहरूसँग सम्पर्कमा आउँछन् । तिनीहरूसँग जोडिएका प्रोफाइलहरू प्रायः नक्कली हुन्छन् । उदाहरणको रुपमा एक जना युवतीलाई करिब पाँच महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा युवकको‘फ्रेण्ड रिक्वेस्ट’ आयो । फेसबुक वालमा युवतीको आकर्षक तस्वीर देखेपछि युवकले साथी बन्ने प्रस्ताव पठाएका थिए ।
युवतीसँग युवकले केहीदिन कुरा गरेपछि युवक युवतीसँग अत्याधिक नजिक हुँदै जान्छन् । करिब एक महिनाको कुरा गरेपछि युवकले युवतीलाई नग्न तस्विरहरू र भिडियोहरू साझा गर्न प्रेरित गर्छन् । पछि युवतीले दिएको नग्न तस्वीरहरु युवकले राखी युवतीलाई ब्ल्याकमेल गर्न थाल्छ । उसले पैसाका लागि युवतीलाई जबरजस्ती गर्न थाल्छ । पैसा नदिएको खण्डमा युवकले युवतीको तस्बिर र भिडियो इन्टरनेटमा उसको परिवार आफन्त साथीहरुसँग सेयर गर्ने धम्की दिन्छ । हाल हाम्रो समाजमा यस्ता घटनाहरु बढिरहेको र साइवर अपराधलाई बढावा दिइरहेको छ ।
साइवर अपराध २१औँ शताब्दीको प्रमुख समस्या भएको छ । यसलाई समय अनुकूल रोक्न सकिएन भने भोलि कोभिड–१९ भन्दा बढी डरलाग्दो समस्या ल्याउनसक्ने साइवर सुरक्षामा संलग्न व्यक्तिहरु बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समय अनुकूल कडा कानुन निमार्णका लागि जोड दिइरहेको बेला नेपालमा पनि नयाँ कानून ल्याउन लागिएको छ। यसको कार्यान्वयनमा जोड दिन सकिएमा सामाजिक सद्भाव बढाउन र आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ । हाम्राकुरा।