सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमय भएका छन् ।
नाम्खा-३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका-८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएको नाम्खा-३ खगालगाउँका रिक्जिन लामाले बताए ।
आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन् । खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट-८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ ।
नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले चुँडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताए ।तीन बस्तीका लागि २८ किलोवाट क्षमताको छोइपुग लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालित सम्पूर्ण कार्य प्रभावित भएका छन् ।
स्थानीयले सल्लाको दियालो (झोरो) को प्रयोग गर्नुपर्ने बाध्यता छ । यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्ष लामाले बताए । रासस