सहकारीविरुद्ध एक्सनमा नेपालगञ्ज उपमहानगर

आइतबार, वैशाख ३०, २०८१

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन सुरु गरेको छ। सहकारी सुधार्ने अभियान अन्तर्गत उपमहानगरले नगरभित्रका सहकारीहरुमा अनुगमन गरिरहेको छ ।

सहकारीहरुलाई विधिसम्मत संचालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन गरिरहेको हो । सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरुको अनुगमन गरिरहेको सहकारी शाखा प्रमुख प्रविण रानाले बताए ।

आज नेपालगञ्ज-१० आदर्शनगरस्थित इन्द्रावती बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरिएको छ । केही कैफियत भेटिएको उक्त सहकारीलाई सचेत बनाइएको रानाले बताए । समग्रमा इन्द्रावती सहकारीको अवस्था 'सुधारोन्मुख' देखिएको रानाको भनाई छ । डकुमेन्टेशन व्यवस्थापन, कार्यविधि तथा ऐन(नियम निर्माण, खर्च कटौती लगायतका विषयमा सुझाब दिइएको छ । इन्द्रावतीका प्रबन्ध सञ्चालक टि.बी थापा (प्रकाश)ले कैफियत सच्याउने प्रतिबद्धता ब्यक्त गरे ।

सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी संघका प्रवन्ध संचालक नवराज उपाध्याय, सहकारी शाखाकी तुलसा पन्थी आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरी सम्मिलित टोलीले अनुगमन गरेको हो ।  

सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पारे । उनले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’ मै उत्रेको बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्