इस्तियाक राईले भने- उपेन्द्रजीको हैकमवादी चरित्रले वाक्क दिक्क भएर अर्को पार्टी बनायौँ

शनिबार, वैशाख २९, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको  बताएका छन् । 

उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको जिकिर गरे । पार्टी विभाजनपछि नेपालगञ्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको बताए । ‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दास सम्झिने, हैकमवाद लाद्ने उपेन्द्रजीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बाहिरिने अवस्था आएको हो,’ महासचिव राईले भने । 

उनले उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेस, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि विर्संदै गएको बताए । ‘मधेस लगायत विभिन्न आन्दोलनको मुद्दालाई विर्सेर आफू मात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेस, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्नु परेको हो ।’ पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताले दिएको सुझावलाई रद्दीको टोकरीमा फाल्ने र आफू नजिकका नेता, कार्यकर्तालाई मात्र सदस्यता दिने अभियान थालेपछि पार्टीमा बस्नुको औचित्य नदेखेको महासचिव राईको भनाई छ । उनले महाधिवेशन प्रतिनिधि छनोटका बेला उपेन्द्र यादवले आफ्ना मान्छेलाई मात्र सदस्यता वितरण गरेको आरोप समेत लगाए । मूल आयोजक कमिटी गठन नगरेर उपेन्द्र यादवले महाधिवेशन गर्न खोजेको समेत उनले बताए । ‘अमेरिका जानु अघि कार्यकारिणीका अल्पमत सदस्यबाट निर्णय गराएर महाधिवेशन मूल समिति बनाउन खोज्नुभयो । उहाँ (उपेन्द्र) जीले पार्टीमा एकलौटी निर्णय गरी अगाडि बढ्न खोज्नुभयो,’ उनले भने, ‘महाधिवेशनलाई प्रदेश अधिवेशन जस्तो बनाउन खोज्नुभयो । यो सरासर गलत थियो । उहाँको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँ ।’

उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै सवै जनालाई जसपामा आबद्ध हुन आग्रह समेत गरेका छन् । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एकखालको अलमलको अवस्था आएको छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाँकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा आवद्ध हुने प्रतिवद्धता जनाएको पाउँदा औधि खुसी लागेको छ । अलमलमा रहेका अरु नेता, कार्यकर्ताहरुलाई पनि जसपामा आवद्ध हुन आग्रह गर्दछु ।'

जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जसपाका लुम्बिनी प्रदेश सदस्य असलम अन्सारी, माजिद शेख, जुनेद कादरी, थरुहट प्रदेश सचिव चिन्टु बर्मा, नेपालगञ्ज उपमहानगरपालिका १४ का वडा अध्यक्ष मजहर साई, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, वडा नम्बर २२ का वडा अध्यक्ष गफ्फार हल्वाई, समाजबादी महिला संगठन बाँके अध्यक्ष गिता मल्ल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्