बाँकेबाट चोरी भएका मोटरसाइकलसहित चोरी गिरोहका ४ जना पक्राउ

शनिबार, वैशाख २९, २०८१

नेपालगन्ज । बाँकेबाट मोटरसाइकल चोरी गर्ने चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी बाँकेले मोटरसाइकल चोरी गरेका र चोरी गर्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको हो।

प्रहरीले २०८१ बैशाख २४ गते नेपालगन्ज-१८ बिशालनगरबाट भे १ प ५९९३ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा बर्दियाको बढैयाताल गाउँपालिका-२ का निर्मल सुनारलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

त्यसैगरी बैशाख २७ गते नेपालगन्ज-१२ कोरियनपुरबाट चोरी भएको भे ३ प ६०८ नम्बरको स्प्लेन्डर मोटरसाइकललाई नेपालगन्ज-१० गणेशमान चोक नजिक चलाइरहेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका-६ का मनोज रावतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको डीएसपी डाँगीले बताए।

बैशाख २८ गते बिहान ४ बजे जानकी गाउँपालिका-४ बाट भे १ प ३४४७ नम्बरको मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा खजुरा गाउँपालिका-७ का टुइन्क लस्टर श्रीवास्तव र सोही स्थानकै लक्ष्मण हरिजनलाई त्यसै दिन पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यस्तै जिल्ला प्रहरी बाँकेले  लु ३७ प ७७७ नम्बर (ईन्जिन नं JA05ECE9M12286 र चेसिस नं MBLJA05EM12992 को मोटरसाइकल फेला पारेको जनाएको छ। उक्त मोटरसाइकल धनी फेला नपरेकोले उक्त मोटरसाइकलको कागजपत्रसहित जिल्ला प्रहरी कार्यालय बाँके आएर लैजान अनुरोध समेत गरेको छ।

बाँके प्रहरीले पक्राउ परेका चारै जनालाई चोरी कसुरमा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्