आजदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै

शुक्रबार, वैशाख २८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन सुरु हुन लागेको हो ।

नयाँबानेश्वरस्थित संसद भवनमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट)जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् । आजदेखि बजेट अधिवेशन सुरु हुने भएपनि नेपाली कांग्रेसले के गर्छ भन्ने विषयले अर्थ राख्ने छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्