वीपी स्मृति दिवसमा नेपालगञ्जमा वीपीको शालिकमा माल्यार्पण

शनिबार, साउन ६, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा आज विहान माल्यार्पण गरिएको हो । 

माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताए ।

कांग्रेस एकजुट भए कसैले पनि कांग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिए । उनले गाउँगाउँमा सांगठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । 

माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले सम्बोधन गर्दै वीपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि मागदर्शन भएको बताए । 

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता कार्यकर्ता उपस्थित थिए ।

सचिव कोइरालाका अनुसार जिल्लाको परिपत्र अनुसार आज विभिन्न पालिकामा बृक्षारोपण लगायतका कार्यक्रमहरु भइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्