सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको छ: प्रधानमन्त्री

बुधबार, वैशाख २६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं  । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बताएका छन् । 

नेपाल माओवादी केन्द्र सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।” आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी गराउँदै उनले समाजवादको आधार तयार गर्ने बताए । 

नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले सुशासनको अभियानमा सरकारले नयाँ कीर्तिमान कायम गरेको बताए । 

वर्तमान सरकारले ललितानिवास जग्गा प्रकरण, अवैध सुन तस्करी नियन्त्रण, मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रियामा ठूलो मेहनत गरेको उनको भनाइ छ ।    

माओवादी नेतृत्वको सरकारले थालेका सुधारका काम एकाथरी व्यक्तिलाई मन नपरेकाले जनपक्षीय कामलाई सरकारले निरन्तर अघि बढाउने उनले स्पष्ट पारे । 

वर्तमान सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गबाट अघि बढाएको उल्लेख गर्नुहुँदै पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट कूटनीतिक सम्बन्ध प्रगाढ बन्दै गएको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्