सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
हुम्ला । दुर्गम हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयमा भवन अभाव हुँदा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढ्न बाध्य भएका छन् ।
बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा भवन अभाव भएपछि पढाइ पनि प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक राजु लामाले बताए । उनका अनुसार भवन र कोठा अभाव हुँदा २ र ३ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता भएको छ । उनले भने, ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेको प्रधानाध्यापक लामाले बताए । उनका अनुसार ४ र ५ का विद्यार्थीले पनि एउटै कोठामा बसेर पढिरहेका छन् ।
विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा ४ र ५ कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए । ‘एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुलाई पढाएको कुरा बुझ्न समस्या हुन्छ’, उनले भने ।
विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेराले जानकारी दिए । कक्षा १ मा ३३ जना, कक्षा दुईमा ४ जना, कक्षा ३ मा ८, कक्षा चारमा ४ तथा पाँचमा ३ विद्यार्थी अध्ययनरत रहेका उनले बताए ।
बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित ४ स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी छन् । रासस।