सभामुखले बोलाएको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगियो, कांग्रेसको पुरानै अडान कायमै

मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुरानै मागको अडान राख्दा बैठक बिना निष्कर्ष टुंगिएको हो।

बैठकमा  कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्ने अडान पुनः दोहर्याएको छ।

आज सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यालय भएको शीर्ष नेताहरुको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले पुरानो माग कायम राख्दै छानबिन समिति गठन हुनैपर्ने मागको अडान लिएको बताए।

उनले भने-" सहकारी ठगी प्रकरणमा लाखौं बचतकर्ताको रकम हिनामिना भएको छ। यस प्रकरणमा गृहमन्त्रीको संलग्नताको कुरा रहेको देखिएको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्म कांग्रेसले माग गरेको छ।"  कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागी छानबिन समिति गठन गर्नुपर्ने माग गरेको हो र अहिले नै मुद्दा चलाउनपर्छ कांग्रेसले नभनेको प्रमुख सचेतक लेखकले बताए।

बैठकमा सत्ता पक्षले समग्र सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्ने बताए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीले सदनमा यसबारेमा बोल्न पाउनु पर्ने बताए।

संसद सचिवालयले सदन चल्नका लागि बनाएको 'क्यालेन्डर' अनुरुप संसदीय गतिविधिमा सबै राजनीतिक दलहरुलाई सहयोग गर्न सभामुख घिमिरे पुनः अनुरोध गरेका छन् ।

यही बैशाख २८ गते संसदको बजेट अधिवेशन सुरु हुँदैछ।

आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, रास्वपाका सभापति लामिछाने , राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेसका प्रमुख सचेतक लेखक लगायतका नेताको उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्