जेठको पहिलो हप्तासम्म सत्ता छाड्ने तयारीमा नेकपा एस

मंगलबार, वैशाख २५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सत्ता गठबन्धन छाड्ने तयारी गरेको छ। नेकपा एसले  बहुमत सांसदहरूले सत्ता गठबन्धनबाट बाहिर निस्कन पार्टी अध्यक्ष माधवकुमार नेपालाई दबाब दिएपछि सत्ता छाड्ने तयारी गरेको बताइएको छ ।

‘सम्भवत हामी जेठको पहिलो साता यो सरकारबाट बाहिर निस्कन्छौ होला’, नेकपा एसका एक पदाधिकारीले भने ।  सो पार्टीका अधिकांश सांसदहरूले सत्ता गठबन्धनबाट निस्कनुपर्ने सुझाव दिएका छन् । 

‘सरकारमा बसिरहनुपर्छ भन्ने छैन’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘अहिलेको अवस्थामा नेकपा एसलाई हेपिएको छ, यो राम्रो होइन भनेर हामीले पार्टी नेतृत्वलाई भनेका छौँ , सांसदहरुले पनि यही सुझाव दिनुभएको छ ।’ नेकपा एसबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी १८ सांसद छन् ।

त्यस्तै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सत्ता गठबन्धनमा रहन नहुने धारणा राखेका छन्  । उनी शुरुदेखिनै यो सरकारको विपक्षमा रहेका छन् । स्रोतका अनुसार मेटमणि चौधरी, प्रेम आले लगायतका सांसदहरूले पनि उपाध्यक्ष पाण्डेको भनाइमा समर्थन जनाएका छन्  । 

सांसद आलेले सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्थाप्रति संकेत गर्दै यही गठबन्धनले सहयोग नगर्ने भएपछि सुदूरपश्चिममा कांग्रेसको साथ लिनुपर्ने बताएका छन्  ।  यता अध्यक्ष नेपालले पनि सत्ता गठबन्धनभित्र विश्वासको वातावरण नभएको निष्कर्ष आफ्ना सांसदहरुलाई सुनाएका हुन्  । 

नेकपा एसले जसपा विभाजनबारेसमेत चर्चा गर्दै संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले आफ्नो पार्टीको संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । 

‘यसबिचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ’, नेकपा एसले जनाएको छ । 

कांग्रेससहितको वैकल्पिक गठबन्धन रोक्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाइदिएपछि नेकपा एसले अहिलेको गठबन्धनमा रहिरहन नसक्ने एसले निष्कर्ष निकालेको छ । 

जसपा नेपालबाट फुटेको अशोक राईको जसपा पार्टीलाई निर्वाचन आयोगले मान्यतासमेत दिइसकेको छ । 

एस पार्टीका प्रचार विभाग प्रमुख खतिवडाले कसको डिजाइनमा किन जसपा विभाजन गरियो, त्यसमा देशी विदेशी शक्तिको स्वार्थ के छ भन्ने कुरा समयक्रममा खुल्दै जाने बताउँदै एकीकृत समाजवादीले सरकारमा रहने वा नरहने विषयमा निर्णय लिन बैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो बैठक बोलाएको छ।  

बैशाख ३१ गते र जेठ १ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकले भावी रणनीति तय गर्दै नेकपा एसले सरकारबाट बाहिरिने निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्