उपेन्द्र यादवले भने- पार्टीको महाधिवेशन प्रक्रिया रोकिदैन

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । अमेरिकाबाट फर्किए लगत्तै जनता समाजवादी पार्टी नेपाल(जसपा) का अध्यक्ष एवं सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पार्टीको  महाधिवेशन प्रक्रिया नरोकिने बताएका छन् ।

गएराति अमेरिकाबाट स्वदेश फर्किएका अध्यक्ष यादवले विमानस्थलमा स्वागतका लागि पुगेका पार्टीका नेताहरुसँग  महाधिवेशनबारे पार्टीले निर्णय गरिसकेको हुँदा अब त्यो नरोकिने बताएका हुन् ।

जसपाले आगामी जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा अशोक राई पार्टी विभाजन गर्दै उनकै नेतृत्वमा उनीसहित ७ सांसदको समर्थन जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो।

अध्यक्ष यादवले महाधिवेशन र समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न पार्टीका नेता तथा सांसदहरुलाई आज पार्टी कार्यालयमा बोलाइसकेका छन् ।

अहिले अध्यक्ष यादवको पक्षमा ५ जना संघीय सांसद छन् भने अधिकांश प्रदेश सांसदहरु यादवकै पक्षमा छन्।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:३०
प्रतिक्रिया दिनुहोस्