विपद प्रतिकार्यका लागि नेपालगन्जमा ४ सय दक्ष स्वयंसेवक तयार हुँदै

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा विपद प्रतिकार्यका लागि चार सय जना दक्ष स्वयंसेवक तयार गर्न थालिएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र सिडिएमको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) ले विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक, सामाजिक अगुवा, युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दार सम्बन्धि तालिम दिन सुरु गरेको हो । खोज तथा उद्दार ४, आगलागी नियन्त्रण ५ र प्राथमिक उपचारका ५ वटा तालिम संचालन गरिनेछ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी संयोजक रहेको तालिममा निरञ्जना मल्ल, झविलाल शर्मा, प्रल्हाद विश्वकर्मा र सुशिल चौधरीले सहजीकरण गरेका थिए । प्राथमिक उपचार सम्बन्धि चार दिने तालिमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए भने उपप्रमुख कमरुद्दिन राईले समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र र फस्ट एड किट वितरण गरेका थिए ।

त्यसक्रममा बोल्दै उपप्रमुख राईले सुपरले सराहनीय कार्य गरिरहेको बताउँदै वडा नम्बर ३ र ७ लाई कार्य क्षेत्र बनाइरहेको सुपरलाई दायरा बढाउन आग्रह गरे । तालिम समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतले बोलेका थिए ।

तालिममा प्राथमिक जाँच र सिपिआर प्रक्रिया, घाइतेको हातबाट भएको ठूलो रक्तस्राव र क्षोभ, गाडिएको घाउ, रोलर पट्टी बाँध्ने उपायहरुका विषयमा प्रयोगात्मक अभ्यास समेत गराइएको थियो । तालिममा नेपालगन्ज उपमहानगरपालिकाकोे वडा नम्बर ३ र ७ का दुई मदरसा, सात सामुदायिक विद्यालय, सामुदायिक अगुवा र युवा क्लबका गरी २५ जनाको सहभागिता रहेको थियो । 

सुपर प्रोजेक्टले नेपालगन्जमा आगजनी नियन्त्रण, प्राथमिक उपचार र खोज तथा उद्दारको १४ वटा तालिमबाट चार सय जना दक्ष स्वयंसेवक तयार गर्ने आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १९:४१
प्रतिक्रिया दिनुहोस्