अवधि नपुग्दै तानिए सिराहा र इलामका एसपी

२ महिना नपुग्दै नातिए एसपी आचार्य
सोमबार, वैशाख २४, २०८१

काठमाडौं । फेरि अवधि नपुग्दै नेपाल प्रहरीका दुई जना जिल्ला कमाण्ड गरिरहेका एसपीहरुलाई तानिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सिराहा र इलामका एसपीहरुलाई फिर्ता बोलाएको छ।

नक्सालले सिराहाका  एसपी सन्तोष आचार्य र इलामका एसपी वासुदेव खतिवडालाई परिवर्तन गर्दै प्रधान कार्यालय तानेको हो। गत फागुन १ गतेको सरुवामा सिराहा पठाइएका एसपी आचार्य २ महिना नपुग्दै फिर्ता बोलाइएका छन् । उनको स्थानमा एसपी रमेश पण्डितलाई पठाइएको छ।

इलामका एसपी तानिएसँगै त्यहा एसपी प्रभु ढकालको काज सरुवा गरिएको छ। इलामका एसपी खतिवडा एक वर्ष नपुग्दै तानिएका हुन् ।

नक्सालले उनीहरुलाई फिर्ता बोलाउनुको कारण केही खुलाएको छैन । यसअघि पनि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गत २३ चैतमा ७ जिल्लाका एसपीलाई अवधि नपुग्दै फिर्ता बोलाउन निर्देशन दिएका थिए। केही हप्ताअघि मात्र सिन्धुलीका एसपी विनोद शर्मा २ महिनामै तानिएका थिए।

अवधि नपुग्दै तानिएका एसपीहरुलाई नै तानिनुको कारण अझै थाहा हुन सकेको छैन ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्