कोहलपुर खानेपानी निर्वाचन: लोकतान्त्रिक प्यानलद्वारा प्रतिवद्धता–पत्र सार्वजनिक

शुक्रबार, साउन ५, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलले आफ्नो निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । 

कोहलपुरमा आज पत्रकार सम्मेलन गरी लोकतन्त्रिक प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार टेकनारायण भुषालले कोहलपुरबासीलाई स्वच्छ, सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउने अभिप्रायका साथ “शुद्ध, सफा र प्रशोधित पानी, युवा नेतृत्व र कोहलपुरमा सहज खानेपानी” भन्ने मुल लक्ष्य रहेको बताएका छन्। साथै उनले संस्थाबाट प्राप्त हुने सेवा सुविधाको उपभोग नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सो प्रतिवद्धता–पत्रमा खानेपानीको धारा जडान गरेका तर पिउने पानी प्राप्त गर्न नसकेका उपभोक्ताका घरहरुमा अविलम्ब पानी पु¥याउने, थप १५ वटा डिप बोरिङ्ग र ५ वटा अभोर हेट पानी ट्याङ्की निर्माणका लागि पहल गरिने, गरिबीको रेखामुनी रहेका परिवार, मुक्तकमैयालाई सम्बन्धित निकायको सिफारिसमा औचित्यको आधारमा निःशुल्क धारा जडान गरिने उल्लेख गरिएको छ ।

साथै विगतमा भएको आर्थिक अनियमिततालाई छानविन गरी प्रतिवेदनमा दोषी ठहरिएकालाई कारवाही गरिने, धारा जडान भएका तर पानीको उपभोग नगरेर पनि विल उठेका उपभोक्ताको लागि स्थलगत अनुगमन गरी विल मिनाहा गरिने, बाटोको दुबैतर्फ पाइप लाइन विस्तार गरिनुका साथै प्रत्येक ३/३ सय मिटरमा कन्ट्रोलप्लेस राखिने तथा कुनै कारणबस पानीको आपुर्ति अवरुद्ध हुने भएमा उपभोक्तालाई विद्युतीय माध्यमबाट अग्रिम जानकारी गराउने प्रणलीको विकास गरिने बताइएको छ । 

कोहलपुरको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्नका लागि भेरी बबई डाइभर्सन र राप्ती नदीको पानी कोहलपुरमा ल्याउन सम्बन्धित गौरवको आयोजना, खानेपानी मन्त्रालय र कोहलपुर नगरपालिकासँग आवश्यक समन्वय गरी  कोहलपुरका सबै नागरिकको घर–घरमा हुने पिउने पानीको अभावलाई अन्त्य गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिने अध्यक्ष पद्का उम्मेद्वार भुषालले प्रतिवद्धता जनाएका छन् ।

“पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र आर्थिक सुशासन हाम्रा प्रमुख मुद्धा हुन्” उनले भने “जनभावना अनुरुप सहभागितामूलक नीति निर्माण गरी आवश्यकताको आधारमा संस्थाको कार्य क्षेत्र विस्तार गर्नु हाम्रो अर्को लक्ष्य रहेको छ ।”

सो पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले कोहलपुरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि भुषाल नेतृत्वको टिमले काम गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति पोषण केसीले पानी मानव जीवनको आधारभूत पक्ष भएकाले जनतालाई सहजरुपमा पानी उपलब्ध गराउन सक्ने क्षमता भएको नेतृत्व आजको आवश्यक रहेको बताए ।  

कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि लोकतन्त्रिक प्यानलको तर्फबाट अध्यक्षमा टेकनारायण भुषाल, उपाध्यक्षमा विर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा ध्रुब आचार्य, सहसचिवमा बालकुमारी सापकोटा, सह–कोषाध्यक्षमा इश्वर शर्मा रहेका छन् ।

यसैगरी सदस्यहरुमा झग्गुप्रसाद वली, चक्र दिप शाह, आशा घर्ती मगर, दिपा वस्नेत, टिकादेवी सुनार रहेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्