'सत्ता गठबन्धनमा लाभ र हानीको दाउपेच'

सोमबार, वैशाख २४, २०८१

अमृता चौधरी (सज्जन)। राजनीति भन्दा व्यक्तिगत स्वार्थको लागि जुनसुकै हदसम्म सम्झौता गर्न सक्ने राजनीतिक अवस्थाले देश र जनताको लागि एकदमै घातक प्रवृत्ति हो। नेपाली राजनीतिमा सत्ता प्राप्त गर्नको लागि धूर्तता, धोखाबाजी, मक्कारी तथा कुटिलता प्रयोग गरी बिचार मिलोस्  नमिलोस् स्वार्थ मिल्यो भने राजनीतिमा गठबन्धनको संज्ञा दिदै महिना वर्ष नबित्दै सरकार परिवर्तन हुनुले देशले बिकासले गतिलिन नसकेको हालको अवस्थालाई देख्न सकिन्छ। 

राजनीतिक कुसंस्कार नै बिकासको वाधक हो भन्न सकिन्छ किनभने देशको मेरुदण्ड नै राजनीति हो। २०६५ सालदेखि २०७९-८० सम्मको राजनीतिक यात्रालाई हेर्दा बाह्रौं पटक गठबन्धनको सरकार बन्यो र चल्यो पनि तर,  नत कुनै नीति परिमार्जन भयो न देश र जनतालाई निकास दियो। यस्तो सरकार र सहमतिबाट हामी नेपाली जनताले राज्यबाट के अपेक्षा राख्न सक्छौ? संविधानमा उल्लेख भए अनुसार सर्वभौंमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहने छ भनिएता पनि सो भनाइ कागजमा मात्र सिमित देखियो र जनताले चारजना नेताको हातमा राज्य सत्ता निहित रहेको अनुभूत गर्नुपरेको अवस्था छ। 

कागलाई बेल पाक्यो हर्ष न विष्मात भन्ने उखान झैं नेपाली जनताले वि.सं. २००७ साल देखि संविधान निर्माण गर्नको लागि धेरै संघर्ष गरे संघर्षले सफलता पनि पायो तर जे जस्तो संविधानमा ब्यबस्था गरिएको छ एकदमै सहरानीय छ। संविधानलाई हेर्दा विश्वको उत्कृष्ट संविधान मानिएको छ तर संविधानमा उल्लेखित नीति नियमलाई ब्यबहारमा उतार्न नसक्नु राजनीतिक कमजोरी नै हो भन्दा फरक नपर्ला। हरेक राजनीतिक पार्टी भित्र व्यक्तिगत स्वार्थ रुमलिएको छ। हरेक पार्टीको राजनीतिक दस्तावेज र विधान छ तर सबै पार्टीहरुले सो विधान र दस्तावेजलाई छेउमा राखेर विधान विपरित कार्य गर्न तत्पर देखिन्छन। 

के यो राजनीतिक संस्कार हो? राजनीतिक सिद्धान्त मध्य वीपी को राजनीतिक सिद्धान्त राष्ट्रियता ,प्रजातन्त्र र समाजवाद हुन् । नेपाली काँग्रेसले राजनीतिक स्वतन्त्रता , आर्थिक न्याय समाज कल्याण एवं समानतामा आधारित दर्शनलाई आफ्नो मूल सिद्धान्तको रुपमा अपनाएका वीपीले आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्दती र समाजवादबाट हासिल गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए। जमींदारी प्रथाको अन्त्य, भूमिकों संरचनामा परिवर्तन, किसानको जीवनस्तरमा सुधार तथा जमीनको उत्पादकत्व बढाउने विषयउपर मुख्य नीति प्राथमिकतामा राख्नन तत्पर थिए। 

वास्तवीक किसान तथा उत्पादकको हातमा जमीन हस्तान्तरण हुँदा उत्पादकत्व बढ्छ। सिंचाई सुविधा, कृषि उपकरण, विउँ विजन र साहूमहाजनहरुको महंगों ब्याजबाट मुक्ति दिलाउनु किसानलाई सुविधाजनक कृषि औजार दिलाउनु सक्नु राज्यको दायित्त्व मानेका थिए। वीपीको विचारले जसरी पनि जनजीवनमा समानता देश र जनताको उन्नति उहाको चाहना थियो। त्यसैगरी कार्ल र्मार्क्सको सिद्धान्तअनुसार समाजिक, राजनीतिक र आर्थिक दर्शनलाई श्रम र उत्पादकत्वले आर्थिक विकासमा पूँजीवाद प्रभाब जाँच गर्दछ र पूँजीवादलाई साम्यवादको पक्षमा पल्टाएर श्रमिक क्रान्तिको लागि तर्क प्रस्तुत गर्दछ जसले वर्ग संघर्ष र क्रान्तिको सिद्धान्त पनि प्रस्तुत गर्दछ। 

साम्यवाद, समाजवाद र पूँजीवाद जसले वर्गविहीन प्रणालिको वकालत गर्दछ जसमा सबै सम्पत्तिमा सामूहिक स्वामित्व रहन्छ। समाजवादले साम्यवादलाई यसको प्रारम्भिक अनुयायीहरुले सम्पतिको अधिक समान बितरण, कामदारबीच एकता, समाजवाद उत्पादनको साधनहरुमा सार्बजनिक स्वामित्वको विचारमा आधारित छ। साम्यवाद र समाजवादले पूँजीवादको विरोध गर्छ तर नेपाली राजनीतिमा पूँजीवादनै हावी देखिन्छ। लेनिन विश्व सर्वहारा वर्गका मुक्तिदाता मानिन्छन तर बिडम्बना नेपाली राजनीतिमा सर्वहारा वर्गका नेताको जीवनस्तर हेर्दा पूर्ण पूँजीवादमा विस्तारित देखिन्छ। के नेपाली राजनीति सिद्धान्तमा बसेरै राजनीतिक धर्म निभाएका छन त? जुन सिद्धान्तमा टेकेर राजनीतिक यात्रा तय गरे सोही सिद्धान्तलाई नेतृत्व बर्ग ले चुनौती दिइरहेको देख्न सकिन्छ।

नेपाली राजनीतिलाई हेर्दा बिध्येमान कुसंस्कारले जग लिइरहेको देखिन्छ। विश्व परिवेसलाई नियाल्दा कम्युनिस्ट विचार बोकेको जनवादी गणतन्त्र चीनको बिकासको गतिलाई हेर्दा चिनियाँ कम्युनिस्ट पार्टीको सफलताको प्रमाण चीनमा गरेको द्रुत बिकासलाई लिन सकिन्छ। चार दशकमा ८० करोड़भन्दा बढी मानिसलाई गरीबीबाट मुक्त गरेर चिनियाँ कम्युनिस्टहरुले चीनलाई दोस्रो ठूलो अर्थतन्त्र भएको देश बनाउन सफल भएको छ। दशकभित्रै चीनले विश्वको ठूलो अर्थतन्त्र भएको संयुक्त राज्य अमेरिकालाई टक्कर दिने अवस्थामा पुर्याउन सफल भयको छ। जूनसुकै राजनीतिक सिद्धान्त, विचार बोकेको नेता कार्यकर्ता होस् कम्युनिस्ट नेतृत्वमा चीनले गरेको प्रगति र बिकासलाई नकार्न सक्ने छैनन् ।

नेपालको कम्युनिस्ट, चिनियाँ कम्युनिस्ट भन्दा धेरै पछाडि पनि देखापरेका होइनन्, पुष्पलाल श्रेठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको पनि लगभग ७४-७५ वर्ष भयो होला तर नेपालको कम्युनिस्ट आन्दोलनले नेपालको आर्थिक, सामाजिक,शैक्षिक उन्नति कहाँ पुर्यायो? चिनियाँ कम्युनिस्टले सय वर्षमा आफ्नो देशलाई कायापलट गरिदियो । नेपाली कम्युनिस्टले पनि अवसर र मौका नपाएको त कहाँ होर, २०४६ सालयता पटक-पटक सत्तामा कम्युनिस्ट विचार बोकेको नेतृव पुगेकै हो, २०६२-६३ पछिको अधिकांश समय शासन सत्तामै छ, २०७४ सालको निर्वाचनले त झन कम्युनिस्टहरुलाई दुईतिहाई बहुमत नै लिएर सत्तामा पुर्यायो तर उल्लेखनीय उपलब्धि हासिल गर्न सकेन।

विश्वभरका कम्युनिस्टहरुका लागि सोभियत संघ कुनैबेला आदर्श मानिने गर्दथ्यो, सोभियत संघ बिघटन भएयता कम्युनिस्ट शब्दको इज्जत राखेको चीनले मात्र हो। नेपालमा कम्युनिस्ट नाम मात्रको भेटिन्छन, नत मार्क्स, लेनिन र माओको सिद्धान्तलाई अवलम्वन गर्न सकेका छन, नत सोभियत संघको इज्जत नै राख्न सकेका छन्। 

यसै परिवेसलाई नियाल्दै गर्दा राजनीतिमा वीपिको विचारले के प्रभाव पार्यो भन्ने सम्बन्धमा राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको सिद्धान्त बोकेको नेपाली काँग्रेस अहिले उल्टो बाटो हिडिरहेको छ। वीपिको भनाइ अनुसार राष्ट्रीयता अपरिहार्य तत्व हो तर यो प्रजातन्त्र र समाजवाद विना अधूरो हुन्छ। नेपाली राजनीतिमा नेपाली काँग्रेसले वीपिको सिद्धान्तलाई पछ्याउन सकेको देखिदैन। नेपालको राजनीतिमा सबैभन्दा धेरै देशको नेतृत्व गर्ने मौका पाएको नेपाली काँग्रेस पटक पटक चुकेको छ। राष्ट्रीयता , प्रजातन्त्र र समाजवाद निकै कमजोर अवस्थामा छ ।

अहिले हाम्रो जस्तो  सानो राष्ट्रमा धेरै राज्यहरु बनाउन र राजनीतिक नेतृत्वले गरेको अन्धाधुन्ध सन्धी सम्झौता र विदेशीको हस्तक्षपले  जर्जर बन्दै गएको अवस्था छ। नेपालमा देखिएको हालसम्मकै राजनीतिक अन्योल र गन्तव्यहीन गठबन्धनले देशलाई कुन दिशातिर लैजाने भन्ने समेत तय गर्न सकेको छैन। देशको शिक्षित युवा विदेश पलायन हुनु देशको अर्थतन्त्र विग्रदै जानुमा हाम्रै  राजनीतिक अवस्थालाई नै मुख्य कारण मान्न सकिन्छ।

राजनीतिमा नयाँ उदाएका पार्टीहरु राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जस्ता नवोदित राजनीतिक दलहरुलाई  जनताले धेरै आशा र अपेक्षा लिएर पठाएको पार्टी पनि सत्ताको वरिपरी केन्द्रित हुनु नेपाली जनताको दुर्भाग्य नै हो। 

समग्र राजनीतिमा एउटा वैकल्पिक दल भविष्यमा देशको नेतृत्व गर्छ की भन्ने आशले जनताले २०७९ को निर्वाचनमा ६ महीनामै नयाँ  पार्टीहरुलाई नेपाली जनताले विश्वास गरेर जिताएर पठाए तर बिडम्बना पुरानै दल भित्रको घेराबन्दीमा बसेर सत्ताको स्वाद लिदै विवादमा मुछिएको देखियो। गठबन्धनको संज्ञा दिदै राजनीतिक धमीराले राष्ट्रियता र लोकतन्त्रलाई सखाप नपार्लान भन्न सकिदैन। अब नेपाली जनता सचेत हुने अवस्था आएको छ। मिसन ८४ को गीत गाइरहने हरेक राजनीतिक पार्टीहरुलाई नेपाली जनताले चिन्ने छन र देशलाई निकास दिन नयाँ नेतृत्वको चयन गर्नेछन् ।

 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छाडा चौपायाको सकस !
सोमबार, वैशाख २४, २०८१

किन बदनाम हुँदै गयो न्यायालय ?
सोमबार, वैशाख २४, २०८१