१२ को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

शुक्रबार, वैशाख २१, २०८१

झापा। कक्षा १२ को परीक्षा दिएर फर्किदै गरे एक छात्रामाथि गोली प्रहार भएको छ। झापाको दमक नगरपालिकामा अवस्थित हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा  परीक्षार्थी छात्रामाथि गोली प्रहार भएको हो झापा प्रहरीले जानकारी दिएको छ ।

कक्षा १२ को बोर्ड परीक्षा दिएर फर्कदै गरेकी एरिका अधिकारीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

हाल घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । गोली हान्नुपर्ने कारण अहिलेसम्म खुलेको छैन । 

शुक्रबार बिहान करिब११ः३० बजेको समयमा गोली प्रहार भएको हो । परीक्षा दिएर आफ्नो कोठातर्फ फर्कदै गरेकी अधिकारीमाथि दमक ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो । 

उनको पेटमा एक राउन्ड गोली लागेको इलाका प्रहरी कार्यालय दमकले  जनाएको छ। हाल चिकित्सकले उनको पेटबाट एउटा गोली निकालिसकेको र  उनको सघन उपचार कक्ष(आईसीय) मा उपचार भइरहेको छ । गोली प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

यता गोली चलेको विषयमा बुझ्न प्रहरी टोली अस्पताल पुगेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । ‘अहिले घटनाको विस्तृत विवरण आइसकेको छैन । प्रहरीले घटना बुझ्दैछ’, एसपी केसीले भने ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्