बाँकेमा १२ सुत्केरीको मृत्यु

बिहीबार, वैशाख २०, २०८१

नेपालगन्ज । बाँकेमा चालू आर्थिक वर्षमा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षको हालसम्म मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।

नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ नै सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । घर नजिककै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनु अघि मृत्यु हुने गरेकोमा अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्मको अवधिलाई सुत्केरी भनिन्छ  । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठले बताइन् ।

जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको छ ।

परिवार नियोजन, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारितासम्बन्धि अन्तरक्रियामा उक्त जानकारी दिइएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्