तुलसीपुर उद्योग वाणिज्य संघ निर्वाचन- लोकप्रिय र जित्न सक्नेलाई नै टिकट: दीपक गिरी

बिहीबार, वैशाख २०, २०८१
Neuro hospital Nepalgunj

दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा जसले जित्न सक्छ उसैलाई टिकट दिइनुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बताएका छन् । चुनावमा टिकट पाएर मात्रै नहुने हुँदा जो बलियो छ, व्यवसायीबीच जो लोकप्रिय छ र जसले जित्न सक्छ उसैलाई टिकट दिनुपर्ने गिरीको तर्क छ।

काँग्रेसले संस्थागत रुपमा चुनाव जित्न सक्ने उम्मेदवारलाई टिकट दिनु पर्ने उनको तर्क थियो । अघिल्लो पटक जस्तो हुनु हुँदैन, यो पटक जित्न सक्ने जो छ उसैलाई टिकट दिइनु पर्छ, उनले भने । अहिले चर्चामा रहेका मध्य जित्ने उम्मेदवार को हो ? भन्ने कुरा भने उनले खुलाउन चाहेन ।

त्यस्तै गिरीले वाणिज्य संघको टिकट वितरणमा आफ्नो कुनै पनि हस्तक्षप नहुने र स्वच्छ रुपमा उद्योगी व्यवसायी आउनु पर्ने जोड दिए । उनले भनेका थिए, तेरो मेरो भन्ने भावना सबैले त्याग्नु पर्छ र संस्था बलियो बनाउने कुरामा सबै एक जुट हुनु पर्छ ।

यही २९ गते हुने तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनको लागि बिहीबार मात्रै मतदाता नामावली प्रकाशन गरिएको छ ।

संघ भित्र नयाँ नेतृत्व चुन्नका लागि तीन हजार चार सय ७४ जना मतदाताको नाम प्रकाशित गरिएको निर्वाचत समितिका संयोजक प्रबिण लम्सालले जानकारी दिएका छन् ।

सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार मतदाताको अन्तिम नामाबली प्रकासन भने २२ गते दिउँसो ३ बजेलाई तोकिएको छ । त्यस्तै उम्मेदवारहरुको नामाबली प्रकासन २४ गते अपरान्ह साढे ५ बजेसम्म तोकिएको छ । उम्मेदवारहरुको अन्तिम नामाबली प्रकासन २६ गते बेलुका साढे ५ बजेलाई निर्धारण गरिएको छ ।

तीन बर्षे कार्यकालका लागि बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र , त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियम बनाएको छ ।

निर्वाचन लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । बजारमा संघको नेतृत्वको लागि महासचिव विनिल केसी र उपाध्यक्ष ललितजंग शाहको नाम बढी चर्चामा छ ।

यद्यपी कोषाध्यक्ष देवबहादुर केसीले आँफुपनि अध्यक्ष पदको प्रमुख दाबेदार भएको बताए । सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण भए अन्य बिभिन्न अग्रज ब्यापारिक नेताहरु नेतृत्वमा जाने मनस्थितिमा रहेको स्रोत बताउँछ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप र सबैलाई स्वीकार्य हुने साझा ब्यक्तिको खोजीमा दलहरु कसरतमा जुटेका छन् ।

तुलसीपुरस्थित नेपाली काँग्रेसको क्षेत्रीय पार्टी कार्यायमा  त्यसबारे काँग्रेसका नेताहरुका बीचमा झन्डै ९ घन्टा जति छलफल चलेको थियो । सकभर अबको एक दुई दिन भित्रै पार्टीबाट संघमा पठाउने उम्मेदवारको टुँगो लगाउने पक्षमा आँफुहरु रहेको काँग्रेसका एक नेताले बताए ।

‘हामी अन्तिम गृहकार्य गरिरहेका छौं,’ उनले भने ‘ सकभर स्वच्चछ छविका र सबैलाई स्वीकार्य हुने युवालाई नेतृत्वका लागि पठाउने प्रयास हुनेछ ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्