देश जलिरहेछ, सरकारसँग छैन् नियन्त्रण गर्ने संयन्त्र

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं । अहिले देश जलिरहेको छ । चैतको पहिलो सातादेखि लाग्न थालेको डढेलो र आगलागीका कारण कुनै पनि जिल्ला सुरक्षित छैन । जंगलमा डढेलो, बस्तीमा आगलागी निरन्तर भइरहेको छ । यसलाई निभाउने संयन्त्र तयार हुन सकेको छैन । 

आगलागीका कारण मानवीय क्षति नै भइरहेको छ । सयौँको संख्यामा घरपालुवा जनावरको ज्यान गएको छ। जंगलका जनावरको गन्ती नै छैन । भाग्न सक्ने जनावर भागेर बस्तीमै आएर अर्को आतंक मच्याइरहेका छन् । 

कुनै जंगली जनावरले मानिसको ज्यान लिँदा त्यसलाई पासो थापेर मार्यो भने मार्नेलाई जेल कोच्ने कानून छ । तर निरन्तर आगलागी र डढेलो नियन्त्रण गरेर ज्यान बचाउने कानून अझै बन्न सकेन । 

आगलागी र डढेलोको क्रम अझै रोकिएको छैन । निरन्तर डढेलो लागिरहँदा यसले गरेको क्षति मुलुकले कहिल्यै पूर्ति गर्न सक्ने देखिँदैन । 

तीन तहका सरकार छन् । यसमा कहीँ कतै समन्वय भएको देखिँदैन । वनको रेखदेख भएको देखिँदैन । स्थानीय सरकार छ तर वनमा डढेलो लगाउनेलाई कारबाही छैन । 

अनावश्यक विज्ञापनमा खर्च गर्न सरकार एक कदम अगाडि छ तर यतिबेला फैलाउनु पर्ने सचेतनाका कार्यक्रम गरेर आगोको महत्व र हानि बुझाउने कार्यक्रम गर्ने फुर्सद छैन । 

चैत–बैशाखमा हरेक वर्ष आगलागी हुने गरेको छ । अधिकांश आगलागी जानीजानी र मानवीय त्रुटिकै कारण हुने गरेका छन् । यसलाई रोक्ने ठोस योजना सरकारले ल्याउनै सकेको छैन । 

तुलनात्मक रुपमा विगतमा भन्दा यसपालि बढी नै जनधनको क्षति भएको छ । झन् तीन तहका सरकार सक्रिय भएर लाग्नुपर्नेमा सुनेको नसुन्यै जस्तो गरिरहेको पाइएको छ । 

यो त ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ भन्ने पहिलेदेखिकै भनाइ चरितार्थ भइरहेको छ । रोम जल्दा निरो बाँसुरी बजाउँदै थियो । निरो सन्की शासक थियो । आफ्नै नगरमा आगोको लप्का उठ्दा मानवीय संवेदनामाथि खेलबाड गरी नगरवासीको चिच्याहटलाई मनोरञ्जन ठानेर कसरी संगीतमा झुम्न सक्छ ?

अन्य विदेशी राष्ट्रमा डढेलो लागेका बेला जहाजबाट पानी फ्याँकिदैँ 

यो केवल बिम्ब हो । अहिलेका तीन तहका सरकार र प्रशासनले कुनै पनि हालतमा यो गम्भीर विषयलाई बेवास्ता गर्न मिल्दैन । सुरक्षा निकाय नखटिएको हैन । तर व्यवस्थित छैन । जेसुकै भए पनि त्यसलाई व्यवस्थित गरी सरकारको प्रमुख प्राथमिकतामा आगलागी नियन्त्रण हुनुपर्छ । 

सरकारी अधिकारीहरू पीडितलाई आकस्मिक सहायता दिएपछि राज्यको दायित्व सकिने मानसिकतामा बसिरहेका छन् ।  

अहिलेसम्म गाउँका फुसका छाना हटाउने अभियान हरेक पालिकामा सक्रियपूर्वक हुन सकिरहेको छैन । जसका कारण त्यस्ता घरमा एउटा आगोको फिलिङ्गो नै खरानी बनाउन काफी छ । 

वनमा अग्नि नियन्त्रण रेखा बनाइएकै छैन । केही बनाइएका ठाउँमा नियमित रेखदेख छैन । अहिले सबै एकजुट भएर आगो नियन्त्रण गर्नुको कुनै विकल्प छैन । अहिलेलाई जसरी पनि यो विपद्बाट पार पाएपछि त्यसपछि हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी योजना बनाउनु पर्नेछ । 

राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्रीहरू अनि नेताहरु कुनै कार्यक्रममा हेलिकोप्टर चढेर सयर गर्ने समय यो हैन । यो समय यसरी भाषण गर्न र कुनै उद्घाटन शिलान्यास गर्न जाँदा खर्च हुने इन्धन बचत गरी आगलागी नियन्त्रणमा लगाउने समय हो । 

हरेक ठाउँमा दलका नेता तथा कार्यकर्ता छन् । अहिले सबै एकजुट भयो भने यो आगलागी र डढेलो नियन्त्रण गर्न सकिन्छ । तर खोइ त सक्रिय भएर जलिरहेको देश बचाउन लागेको ?

जिम्मेवार निकायलाई किन्तु, परन्तुको छुट हुँदैन । आगलागी र डढेलो नियन्त्रण हुन नसक्दा अहिले नेपालका मुख्य सहरहरू सबैभन्दा प्रदूषित सहरका रूपमा गनिएका छन् । यसका कारण मानिसमा दीर्घकालीन रोग हुन सक्छ । यसलाई रोक्न तीनै तहका सरकार र जिम्मेवार निकायको एकै लक्ष्य हुनुपर्छ । हाम्राकुरा।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्