अल्लोबाट राम्रो आम्दानी गर्दै घोराहीका महिलाहरु

बिहीबार, वैशाख २०, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको घोराहीका महिलाहरुलाई अल्लो राम्रो आम्दानीको स्रोत बन्दै गएको छ। वन जंगल तथा खोलाहरुमा कुहिएर खेर जाने अल्लो प्रशोधन गरी धागो तयार हुन्छ । त्यसबाट महिलाहरु आय आर्जन गर्दै आएका छन् ।

त्यसबाट कपडा उत्पादन सम्वन्धि सिप सिकेपछि महिलाहरुले राम्रो आम्दानी गर्दै आएका हुन । अल्लो धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्ने महिला मध्य एक हुन घोराही उपमहानगरपालिका-१३ बडहरा निवासी दिलकुमारी पुन ।

विगत १८ बर्षदेखि अल्लो धागो तथा कपडा उत्पादनमा संलग्न दिलकुमारीले विगत ७ बर्षदेखि घोराहीमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यवसायिक रुपमा अल्लो धागो तथा कपडा उत्पादनको काम गर्दै आएकी छन् ।

२०५७ सालमा रुकुमबाट दाङ झरेकी उनले २०६२-०६३ सालदेखि अल्लो धागो सम्वन्धि काम गर्दै आएकी छन् ।

२०७३ सालमा विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग स्थापना गरेर व्यवसायिक उत्पादनमा लागेकी पुनले अहिले बार्षिक करिव २५-३० लाखसम्मको कारोवार गर्दै आएकी छन । धागो तथा कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उनले हिमाली जिल्लाबाट ल्याउने गर्छिन ।

कच्चा पदार्थ प्रशोधनसँगै धागो तथा कपडा उत्पादनको काम गर्दै आएकी उनले उद्योगमा आफु जस्ता ३० देखि ३५ जना महिलालाई रोजगारी दिएकी छन ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कच्चा पदार्थ ल्याउने र घोराहीमा प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरेर बिक्री गर्दै आएकी छन् ।

जसले जिल्ला बाहिरबाट कच्चा पदार्थ ल्याउने र यहाँ प्रशोधन गरेर धागोसँगै कपडाहरु उत्पादन गरेर बिक्री गर्ने गर्दै आएकी छन् ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ कर्णाली तथा सुदूरपश्चिमका अछाम, कालिकोट, दार्चुलालगायतका जिल्लाबाट ल्याउने गरेको पुनले बताइन ।

उद्योगबाट महिला तथा पुरुषका लागि आवश्यक पर्ने तयारी पोसाक अन्तर्गत कोट, झोला, टोपी, पछ्यौंरी, जुत्ता,पर्स,लुंगीलगायत विभिन्न सामग्री बनाउने गर्दै आएकी छन् ।

यहाँ उत्पादन गरिएका कपडा तथा प्रशोधित धागो जिल्लासँगै काठमाडौं, पोखरा, हेटौडालगायतका विभिन्न बजारमा बिक्री गर्दै आएको उद्योगकी अर्की सञ्चालिका मनमाया पुन बताइन ।

‘यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ । विशेष गरेर विदेशीले मन पराउने भएका कारण काठमाडौ नै पठाउने गरेका छौ,’ उनले भनिन् ‘राम्रो बिक्री भएको एकै सिजनमा ५-६ लाख कमाई हुने गर्छ।’

पुन सिजनको समयमा मेला महोत्सवमा पनि बिक्रीका लागि जाने गर्छिन । अल्लो धागो प्रशोधनसँगै उत्पादनमा धेरै मेहनत लाग्ने गर्छ । तर, आम्दानी पनि हुने गरेका कारण आफुहरु सन्तुष्ट रहेको पुन बताउँछिन। यो धागो बनाउने परम्परागत बिधि हो । यसरी अल्लो प्रशोधन गरेर धागो उत्पादन गर्न मेहनत चाहिन्छ । भने काचो कपडा बनाउनका लागि धेरै मेहनत गर्नुपर्छ ।

अल्लोको धागो तथा कपडा उत्पादनका लागि बाहिरबाट आएको कच्चा पदार्थलाई पकाउनेदेखि पानीमा धुने, कमेरो माटो लगाउने, घाममा सुकाउनेलगायतका काम महिलाहरु आफैले गर्ने गर्छन । यो सवै प्रक्रिया पुरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ । उद्योगमा काम गर्ने महिलाहरुलाई ८ घण्टा काम गरेबापत ५ सय रुपैयाँका दरले आर्जन गर्छन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्