कृषि क्षेत्रको उत्पादनले आर्थिक वृद्धिमा सुधार

बुधबार, वैशाख १९, २०८१

काठमाडौं । कृषि क्षेत्रको उत्पादनले साथ दिँदा यो वर्ष नेपालको आर्थिक वृद्धिमा सुधार देखिने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षको लागि गरेको अनुमानमा आर्थिक वृद्धि बढेर ३.८७ प्रतिशत पुग्ने देखिएको हो । अघिल्लो वर्ष यो वृद्धिदर १.९५ प्रतिशतमा सीमित रहेको थियो । 

यो वर्ष नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा बढी हिस्सा ओगट्ने कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत हुने अनुमान छ । पर्याप्त पानी परेको तथा मलको अभावसमेत नभएकोले यो वर्ष कृषि उत्पादन बढेको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । 

चालु आर्थिक वर्षमा नेपालको कुल ग्राहस्र्थ उत्पादन ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये कृषि क्षेत्रले मात्रै १२ अर्ब १६ अर्ब रुपैयाँ बराबरको योगदान गर्नेछ । यो झण्डै २१.३२ प्रतिशत हो। अघिल्लो वर्ष नेपालको जीडीपी ५३ खर्ब ४८ अर्ब रुपैयाँ रहेको थियो । 

कार्यालयले वर्गीकरण गरेका २० क्षेत्रहरुमध्ये यो वर्ष १८ वटा क्षेत्रको वास्तविक वृद्धि सकारात्मक रहेको छ । त्यस्तै, कुल क्षेत्रमध्ये १२ वटा क्षेत्रको आर्थिक वृद्धि अघिल्लो वर्ष वृद्धिभन्दा धेरै हुने कार्यालयको तथ्यांक छ। 

यो वर्ष विद्युत् तथा ग्यास, खाद्य तथा आवास, यातायात तथा भण्डारणसम्बन्धी क्षेत्रको वृद्धिदर दोहोरो अंकमा हुने देखिएको छ । बैंक तथा वित्तीय संस्था, जनस्वास्थ्य, सूचना प्रविधि, पेशागत क्षेत्र, प्रशासनिक क्षेत्र र निजामति क्षेत्र तथा अन्य क्षेत्रमा समेत ४ प्रतिशत भन्दा धेरैको आर्थिक वृद्धि हुनेछ । 

आर्थिक वृद्धि नकारात्मक भएकाहरुमा उत्पादनमूलक र निर्माण क्षेत्र छन् । यी दुई क्षेत्रको वृद्धिदर क्रमशः –२.०७ प्रतिशत र –१.६० प्रतिशत रहने कार्यालयले जनाएको छ । उद्योग क्षेत्रको नकारात्मक वृद्धिदर यो वर्ष घटेको भए पनि निर्माण क्षेत्र भने अझै बढी नकारात्मक अवस्थामा पुगेको छ । 

त्यस्तै, आर्थिक वृद्धि सकारात्मक भएर पनि अघिल्लो वर्षको तुलनामा वृद्धिदर घट्ने अनुमान गरिएका क्षेत्रहरुमा विद्युत् तथा ग्यास, खानेपानी सरसफाइ र फोहोर व्यवस्थापन, प्रशासन, निजामति तथा सुरक्षा क्षेत्र, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्