सशस्त्र प्रहरीको बिन्ध्यवासिनी बाहिनीद्वारा राप्ती नदीमा कृत्रिम घटना अभ्यास

बुटवल र भालुवाङ्गमा समेत गोताखोर तालिम सहितको विपद् व्यवस्थापन टोली राख्छौ: डीआईजी खत्री
मंगलबार, वैशाख १८, २०८१

नेपालगञ्ज । सशस्त्र प्रहरी बल नेपालले जल उत्पन्न प्रकोप उद्दार सम्बन्धि कृत्रिम घटना अभ्यास बाँकेको राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा सम्पन्न गरेको छ । आउँदै गरेको बर्षा याममा हुन सक्ने जल उत्पन्न प्रकोप ब्यबस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको आयोजनामा सम्पन्न बाहिनी स्तरीय कृत्रिम घटना अभ्यासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण शमशेरगञ्ज  बाँकेमा रहेको प्रदेश स्तरीय बिपद ब्यबस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गण भालुबाङ्ग दाङ्गका बिपद ब्यबस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीहरुको संयुक्त टोलीले जल उत्पन्न प्रकोप उद्दार तथा ब्यबस्थापन सम्बद्ध विभिन्न अभ्यासहरु प्रदर्शन गरेका थिए।

बाढी प्रभाबित नागरिकहरुको उद्दार सम्बन्धि उक्त अभ्यासमा मेडिकल फर्स्ट रेस्पोन्डिङ्ग, बाढीमा फसेकाहरुको स्थानीय स्रोत साधनहरुको प्रयोगबाट उद्दार, डुङ्गाबाट उद्दार, रोप रेस्क्यू, पानी मुनी र पानी माथिबाट नदी पार, विभिन्न साधनहरुबाट चीन-अप क्यारी, हाई एङ्गल क्यारी आदि बिधिहरुबाट उद्दार कला प्रस्तुत गरिएको थियो ।

कृत्रिम घटना अभ्यास कार्यक्रममा बोल्दै लुम्बिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) अभि खत्रीले लुम्विनी प्रदेशमा नारायणी, तिनाउ, राप्ती र कर्णाली नदी भएको कारण जलउत्पन्न विपद्‌को दृष्टिकोणले उच्च जोखिममा रहेको र यस्तै आईरहने विपद्हरुमा पीडितको उद्धारमा प्रभावकारीता ल्याउन र समयको परिवर्तनसंगै आईरहेका नयाँ नयाँ प्रविधिको प्रयोग गरी त्यस्ता प्रविधिसंग अभ्यस्त गराउन यस वाहिनीले समय समयमा यस्तै किसिमका तालिम, अनुशिक्षण र कृत्रिम अभ्यासहरु संचालन गर्दै आईरहेको बताए।

न्यून जनशक्ति र सिमित श्रोत साधनको वाबजुद पनि उपलब्ध श्रोत साधनको अधिकतम सदुपयोग गर्दै विपद्‌को समयमा कत्तिपनि विचलित नभई उच्च मनोवलका साथ जनताको सेवामा परिचालित हुन निर्देशन दिदै खत्रीले जलउत्पन्न विपद्‌को दृष्टिकोणले उच्च जोखिममा रहेको यस वाहिनी मातहत जम्मा १० जना मात्र गोताखोरहरु रहेकोले प्रदेश सरकारको सहयोगमा निकट भविष्यमा गोताखोर तालिम संचालन गरी वुटवल र भालुवाङ्गमा समेत गोताखोर तालिम सहितको विपद् व्यवस्थापन टिम राखे योजना रहेको बताएका थिए।

त्यस्तै राप्तीसोनारीका अध्यक्ष तप्त बहादुर पौडेलले सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले गरेको कार्य प्रशसा गर्दै सशस्त्र प्रहरीलाई सदैव सहयोग र साथ रहने बताएका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री दिनेश पन्थील सशस्त्र प्रहरी विपद्को साथी र सहयोगी भएको बताउँदै प्रदेश सरकारबाट सशस्त्र प्रहरी आबश्यक सहयोग हुने बताए।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री  पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभ्यासमा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण आचार्य,  राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्धवासिनी बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री लगायत स्थानीय सरकारका जनप्रतिनिधिहरु तथा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी प्रदेश नारायणी नदी, तिनाउ नदी, राप्ती नदी, बबई नदी, कर्णाली नदी जस्ता मुख्य नदीहरु तथा अन्य स्थानीय नदीनालाहरुमा आउने बाढीका कारण प्रभाबित रहँदै आएको छ।

यस प्रदेशमा हरेक बर्षा याममा जल उत्पन्न प्रकोपका कारण बर्सेनी हजारौं नागरिकहरु प्रभावित हुनुका साथै जनधनको समेत क्षती हुने गरेको छ । यस्ता बिपद प्रकोपहरुबाट हुन सक्ने क्षती न्यूनीकरण र तत्काल उद्दारका लागि सशस्त्र प्रहरी बल नेपालले जनचेतनामूलक कार्यहरुका साथै आन्तरिकरुपमा तालिम, अनुशिक्षण एवम पूर्ब अभ्यासहरु सञ्चालन गर्दै आएको छ । सशस्त्र प्रहरी बल नेपालसंग हाल लुम्बिनी प्रदेशमा १० जना गोताखोर तालिम प्राप्त जनशक्ति रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्