बाँकेमा तस्करीविरुद्द सशस्त्र प्रहरी याक्सनमा, सय पिस मोबाइलसहित लाखौंको अवैध सामग्री बरामद

सोमबार, वैशाख १७, २०८१

बाँके । बाँकेमा सशस्त्र प्रहरी अवैध तस्करीविरुद्द याक्सनमा उत्रिएको छ। अवैध तस्करी निस्तेज पार्न सशस्त्र प्रहरीले सीमा नाकामा कडा निगरानी गर्दै धमाधम अवैध सामग्री बरामद गरेको छ।

अवैध तस्करीविरुद्द याक्सनमा आउँदै  सशस्त्र प्रहरीले बाँकेबाट लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्जबाट र मातहतका सशस्त्र प्रहरी कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइँदै गरेको ६ लाख २४ हजार ४० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं. ३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले आइतबार नेपालगन्ज-१५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका १ लाख ५० हजार रुपैयाँ बराबरको १ सय पिस  कि प्याड मोबाइल ,  २ लाख ३४ हजार ४ हजार ९ सय रुपैयाँको  लत्ताकपडा , पेय पदार्थ , सुर्तीजन्य तथा किराना सामग्री र ७९ हजार ५ सय रुपैयाँ बराबरको तरकारी बरामद गरेको हो।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाह बिओपीले जमुनाह नाकाबाट भारतबाट भित्र्याइएको ४२ हजार ७ रुपैयाँ बराबरको अवैध लत्ताकपडा लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जनाएको छ।

आइतबार नै बिओपी कालाबजारबाट खटिएको टोलीले भन्सार छली गएर डुडुवा-६ कालाबन्जार ल्याइएको १७ हजार १ रुपैयाँ बराबर लत्ताकपडा लगायतका अवैध सामग्री बरामद गरेको हो हो।

त्यसैगरी सशस्त्र प्रहरीले भारतबाट चोरीपैठारी गरेर  नेपालगन्ज ल्याइएका  १ सय चल्लासहित अण्डा बरामद गरि नेपालगन्ज भन्सार कार्यालयस्थित पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा सामग्री लिएर आएको पिकअप गाडीसहित चालकलाई विलविजक शंकास्पद हुँदा आबश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउँदा ९५ हजार १५० रुपैयाँ जरिवाना गराइएको जनाएको छ। 

बरामद गरिएको सबै अवैध सामग्रीहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं.३०  गण नेपालगन्जले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:२८
प्रतिक्रिया दिनुहोस्