९ वर्षअघि फुपूको छोरीको हत्या गरेर फरार भएका समर पक्राउ

आइतबार, वैशाख १६, २०८१

काठमाडौं । ९ वर्ष अघि आफ्नै फुपूको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ९ वर्षअघि फुपूको छोरीको हत्या गरी फरार रहेका  समरबहादुर सार्कीलाई आज पक्राउ गरी सार्वजनिक गरेको हो । 

समरबहादुरलाई  काठमाडौँस्थित चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको हो । अभियुक्त समरबहादुले २०७१ साल असोज ३१ गते फुपूको छोरीको हत्या गरी फरार भएका थिए । फुपूको छोरी २३ वर्षीया सुनमाया किसान(सार्कीको) हत्या गरी शौचालयमा फालिएको अवस्थामा कार्तिक १ गते शव फेला परेको थियो । 

प्रहरीले दिएको जानकारी अनुसार म्याग्दी जिल्ला तत्कालीन कुहु गा.वि.स। वडा नं. ५ स्थायी घर भएकी सुनमाया किसान काठमाडौं जिल्ला तत्कालिन सेतीदेवी गा.वि.स तौथलीमा आफ्नो मामा गङ्गाबहादुर सार्कीसँग कुष्ठरोग आरोग्य आश्रममा बस्ने गरेकी थिइन् । कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रूपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठुलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या भएको देखिएको प्रहरी नायव उपरीक्षक सुरक्षा केसीले जानकारी दिए ।

अभियुक्त हत्या गरेर भोलिपल्टै भारततर्फ प्रवेश गरेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्