दुई पटकको विश्व विजेता वेष्ट इन्डिज नेपालसँग पराजित, रोहित पौडेलले हाने ११२ रन

नेपाल ४ विकेटले विजयी
शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० को पहिलो खेलमा नेपाल विजयी बनेको छ। टेष्ट राष्ट्र एवं दुई पटकको विश्वकप विजेता  वेष्ट इन्डिजलाई ४ विकेटले   पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको  वेष्ट इन्डिज ए ले नेपाललाई दिएको २०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.४  ओभरमा ६   विकेट गुमाउँदै  २०६ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलको प्रदर्शन उत्कृष्ट रह्यो। उनले ५४ बलमा ११२ रन हाने। त्यस्तै दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्ल १६, बिबेक यादव  ७ तथा अनिल साहले ५ रन बनाए।गुल्शन झा र प्रतिश जिसीले नटआउट रहदै क्रमश  ९ रन र ५ रन बनाए। वेष्ट इन्डिजका म्याथ्यू फोर्डले २, ओबेद म्याककोयले  २ विकेट लिए।

वेष्ट इन्डिज ए का लागि रोस्टन चेसले सर्वाधिक   ७४ रन बनाए।त्यस्तै एलिक एत्जानाजेले ४७ रन जोडे।  वेष्ट इन्डिज ए का अर्का केसी कार्टीले ३९ रन बनाएर आउट भए। वेष्ट इन्डिजका मुख्य ओपनर ब्याट्सम्यान जोनसन चार्ल्स शुन्य रनमै आउट भएका थिए।

वेष्ट इन्डिज ए विरुद्द नेपालका कमल ऐरी, रोहित पौडेल,अबिनाश बोहराले १-१ विकेट लिए।

वेष्ट इन्डिज ए विरुद्धको खेलमा नेपाल रोहित पौडेलको कप्तानी उत्रेको छ। आज नेपालको प्लेइङ ११ मा  कुशल भुर्तेल, अनिल शाह (विकेटकिपर), कप्तान रोहित पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी र कमलसिंह ऐरी छन् ।

त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे , फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । 

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

त्यस्तै वेष्ट इन्डिज नेपालमा पहिलोपटक टी-२० खेल्न आउँदा जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपाललाई यो निकै राम्रो अवसर रहेको छ । 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्