इलाम-२ उपनिर्वाचन : मतदान सुरु, १९ उम्मेदवारबीच प्रतिस्पर्धा

बझाङमा पनि मतदान सुरु
शनिबार, वैशाख १५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजको उपनिर्वाचनका लागि इलाम र बझाङमा मतदान सुरु भएका छन्। आज इलाम–२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ  । इलाम २ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

बझाङ १ (क) कुल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले इलाम र बझाङको निर्वाचनमा सहभागी हुन अपीलसमेत गरेको छ । त्यहाको मतदान पनि ७ बजेदेखि नै सुरु भएको हो।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ । “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने ४८ घण्टा अगाडिबाट शुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ”, आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ ।”

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:३२
प्रतिक्रिया दिनुहोस्