गृहमन्त्रीबारे भाइरल भिडियो- गणेशमानको भिडियोमा सत्यता छैन्: प्रहरी

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं ।  नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै एक युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 

काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । ब्युरोले फेसबुकमा अश्लिल सामग्री प्रकाशन गरेको विषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ ।

साथै साइबर ब्युरोले अनुसन्धानमा बाधा पुर्याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोष्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको बताएको छ ।

 

के थियो कुरा-

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी प्रकरणलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी वा कुनै पनि कमेन्ट गर्न नहुने भएको छ।

फेसबुकमा सामान्य कमेन्ट गरेको आधारमा उनको सचिवालयले प्रहरीमा उजुरी गर्ने र प्रहरीले सर्वसाधारणलाई धरपकड गर्ने, अनावश्यक दुःख दिने लगायतका कार्य गर्दा एक युवकले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । 

बुधबार दिउँसो प्रहरीको साइबर ब्युरोकै ढोकामा विष सेवन गर्दा एक युवाको झण्डै ज्यान गएको थियो ।  जाजरकोट कुशे गाउँपालिका स्थायी घर भएका गणेशमान सिंहलाई साइबर ब्युरोले पक्राउ गरी गृहमन्त्री रवि लामिछाने विरुद्ध किन कमेन्ट गरेको भन्दै मानसिक तनाव दिँदा ब्युरोकै ढोकामा विष सेवन गरेर आत्महत्याको प्रयास गरेका थिए । 

उनले विष सेवन गरेपछि प्रहरीले वीर अस्पताल पुर्याएको थियो । वीर अस्पतालमा उपचार हुन नसकेपछि राति नै कीर्तिपुरको बर्न अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । 

हाल उनको बर्न अस्पताल कीर्तिपुरमा उपचार भैरहेको उनका भाइ मानबहादुर सिंहले बताए । उनको अवस्था अहिले चिन्ताजनक रहेको पनि सिंहले जानकारी दिए । 

पीडितले दुई तीन महिना अगाडि फेसबुकमा कमेन्ट गरेका भरमा साइबर ब्युरोले बोलाएर आफूलाई दुःख दिएकोसमेत बताएका छन् । ‘मोबाइल लिन आइज भनेर तँलाई जेल हाल्छु ६–७ वर्ष गृहमन्त्रीको विरुद्ध बोल्ने रु सहकारी ठगीको तँसँग के प्रमाण छ ? साइबर ब्युरोले मलाई हजारौँ प्रश्न सोध्यो’ पीडितले भने ।

‘अरु कोहीले फेसबुकमा राखिएको सामग्रीमा दाजुले सहकारी ठगी प्रकरणमा  कमेन्ट गर्नुभएको रहेछ त्यही आधारमा प्रहरीले दुई पटक बोलाएर प्रमाण लिएर आइज नत्र जेल हाल्छौँ भनेछन् अरुले उजुरी गरेको देखिएन गृहमन्त्रीको आदेश छ १० वर्ष जेल हाल्छौ भनेर प्रहरीले धम्की दिएपछि बाँच्नुभन्दा मर्नु नै वेश भनेर विष सेवन गरेको देखियो’, पीडितका भाइ मानबहादुरले भने । 

गृहमन्त्री र उनको सचिवालयले अघोषित रूपमा सुरक्षा निकायको दुरूपयोग गरी विचार अभिव्यक्तिमाथि प्रतिबन्ध लगाएर ज्यान लिने कोसिस गरेका छन् । साइबर ब्युृरोकै ढोकामा विष सेवन गरेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेपछि केन्द्रीय प्रहरी कार्यालयले विशेष चासो राखेको थियो । 

त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका सिंह अहिले लोकसेवाको तयारी गरिरहेका थिए । उनले सहकारी ठगीको विषयमा रविले प्रष्टीकरण दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा गरेको पोष्टलाई लिएर प्रहरीले अनावश्यक रुपमा मानसिक तनाब दिएको थियो ।

 ‘रवि लामिछानेविरुद्ध किन लेखेको भनेर पाँच जना प्रहरीले घेरा हालेर टर्चर दिएका रहेछन्’, उनका भाइ मानबहादुरले भने । उनका भाइले दाजुको फेसबुक पेजमा ११ घण्टा अघि पुरानो कमेन्टमा अरुले नै सम्पादन गरेकोसमेत दाबी गरेका छन् ।

‘मोबाइल प्रहरीले लगेको थियो, त्यहाँ तीन पटक सम्पादन गरेको देखिन्छ’, उनले भने । प्रहरीले सिंहको मोबाइल पनि नियन्त्रणमा लिएर राखेको थियो ।

उनलाई तीन दिनअघि पहिलो चोटी बोलाएको थियो भने बुधबार दोस्रो पटक बोलाएर जेलमै सडाउने धम्की दिइएको पनि उनका भाइ मानबहादुरले बताए । 

सहकारी ठगीका किङ भनेर चिनिएका गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछाने दुवै जना सञ्चालक रहेको गोर्खा मिडियामा सहकारीले गरेको कराडौँ लगानी डुबेको छ । 

ग्यालेक्सी टीभी सञ्चालन गर्दा आफैँ सञ्चालक समिति रहेका लामिछानेले सुप्रिम, सूर्यदर्शन लगायतका सहकारीबाट करोडौँ रुपैयाँ आफ्नै नाममा ऋण लिएर सर्वसाधारणको रकम अपचलन गरेको आरोप लागेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्