वन्यजन्तुलाई पानी खुवाउन वनको बीचमै पोखरी

बुधबार, वैशाख १२, २०८१

म्याग्दी । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरि वनमै पोखरी निर्माण गर्न थालिएका छन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो ।

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ’, अधिकारीले भने ।

उनका अनुसार बेनी नगरपालिका–५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका–२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका–१ को कल्लेरी, वडा नं७ को रानीवन, मंगला–२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका–२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन् । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ ।

डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताए ।

यसअघि आर्थिक वर्ष २०७८-७९ मा १० र २०७९-८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उनले जानकारी दिए।

दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए ।

जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गर्दछन् । रासस।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्