रवि लामिछाने भने-हरेक महिना ठुलो भ्रष्टाचारीलाई पक्रने भनेको छु, अर्को महिना सर्प्राइज

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

इलाम । इलाम-२ मा चुनावी प्रचारप्रसारको अन्तिम दिनको आफ्ना उम्मेदवारको चुनावी सभालाई सम्बोधन गर्दै सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गृहमन्त्री रवि लामिछानेले पुराना पार्टीलाई नानाथरी आरोप लगाएका छन् ।

आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले आफूलाई बदनाम गराउन विभिन्न रुपले हिलो छ्याप्न खोजेको लामिछानेले  आरोप लगाएका छन् ।

उनले कुनै पार्टीको नाम नलिएर भने-"कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन्।’ 

इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति  लामिछानेले त्यस्तो बताएका हुन् ।

रवि तिनै हुन् जसले फोन रेकर्डका भरमा रास्वपाका सांसदलाई हटाएका थिए । तर अहिले सहकारी प्रकरणमा यति धेरै प्रमाण आइसक्दासमेत राजीनामा दिनु त कता हो संसदमा छानबिन समिति गठन गर्न समेत अवरोध गरेका छन् । 

रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’

०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’

नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएकोबारे संकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको उनको भनाइ थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए । उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । 

जो आफैं भ्रष्टाचार प्रकरणमा मुछिएर  झण्डा  हल्लाउँदै अख्तियार बयान दिन जाने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने आरोपमा जेल बस्ने नेताको पार्टी नेपाली कांग्रेसले भन्दैमा मैले राजिनामा दिनुपर्ने? हुँदै नभएको कुरा लिएर राजीनामा माग्न मिल्छ? लामिछानेले भने।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि कांग्रेसले उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्छ भन्दा उनको बचाउका लागि सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरेको हो।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्