उपनिर्वाचन: आज मध्यरातदेखि मौन अवधि,के-के गर्न पाइदैन?

बुधबार, वैशाख १२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ। बैशाख १५ गते इलाम-२ र बझाङ १ (क) मा हुने उपनिर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जानकारी  गराएको छ।

उक्त मौन अवधि सुरु भए लगत्तै मतगणना नासकिन्जेलसम्म प्रचारप्रसार गर्न निषेध हुने आयोगले जनाएको छ।

आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकुल हुने गतिविधिको  निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ । 

आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाटसमेत मत माग्न निषेध गरिसकेकोले  सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराएको छ ।

साथै निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ । 

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नरगराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र  निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ ।

१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।

२.उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घरसंस्था र निकाय बाहेक निर्वाचन कार्यसंग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने ।

३. निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेवापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र  मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीं कतै भए गरेको पाइएमा कानू नबमोजिम तत्काल कारवाही गर्ने ।

इलाम-२ का लागि १९ जना उम्मेदवार छन् । त्यस क्षेत्रमा २० जनाले उम्मेदवारी दिएकोमा १ जनाले फिर्ता लिएका थिए। त्यस्तै बझाङमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्