सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
इलाम । बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा रुख चिन्हमय भएर ब्युँझने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । महामन्त्री शर्माले इलाम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार डम्बर खड्काको जीत सुनिश्चित भएको दाबीसमेत गरे ।
‘इलाम क्षेत्र नम्बर २ का मतदाता विकासप्रेमी उम्मेदवार डम्बर खड्कालाई जिताउन बैशाख १५ को व्यग्र प्रतीक्षामा छ्न्’ इलाम २ उपनिर्वाचन केन्द्रीय समन्वय समितिका संयोजकसमेत रहेका शर्माले बताए। महामन्त्री सर्माले पार्टी पूरै एकढिक्का भएर उभिएको र अहिले पार्टी भित्रका सबै वैचारिक समूह एकताबद्ध भएर लागेकोले परिणाम कांग्रेसको पक्षमा आउने बताउँदै डम्बर खड्काको विजयले मात्रै इलाम २ को विकास सम्भव हुने जिकिर गरे ।
इलामको विकासको आधार तयार गर्ने अधिकार इलाम २ का मतदाताको हातमा रहेकोले इलामेली जनतालाई इलाम २ को विकास गर्ने आधार तयार गरिदिन अनुरोध गर्दै डम्बर खड्कालाई जिताएर विकासको फाइल बोकाएर पठाए इलाम २ को विकासका लागि सिंहदरबारमा लड्न आफूहरु तयार रहेको महामन्त्री शर्माले बताए ।
धरानबाट दुई महिनाअघि इलाम आएका निर्भिक हराएको र गृहमन्त्री रवि लामिछाने पटकपटक इलाम आउँदा पनि उनको खोजीमा चासो नराखेकोतर्फ लक्षित गर्दै सहकारी ठगीको आरोपमा संसदीय छानबिन समिति बनाउन नमान्ने र दुई महिनादेखि हराइरहेका निर्भिक तामाङको खोजी गर्न नसक्ने गृहमन्त्री रवि लामिछाने नेतृत्वको पार्टीलाई मत दिएर केही पनि नहुने शर्माले तर्क प्रस्तुत गरे ।
‘कसैले कसैसँग टेलिफोनमा पैसा मागेको आरोप लाग्दा सांसद बर्खास्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूमाथि सहकारी ठगीका दर्जनौँ प्रमाण हुँदासमेत थाहा छैन भनेर बसेका छन् । फोन रेकर्डको आधारमा सांसद बर्खास्त गर्ने व्यक्ति आफूलाई दर्जनौँ आरोप लाग्दा थाहा छैन भनेर पन्छन मिल्छ ? यस्तो सभापति भएको पार्टीलाई कसरी भोट दिनुहुन्छ ?’, महामन्त्री शर्माले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता उपर हाकाहाकी ठगी गरेको शर्माले टिप्पणी गर्दै इलामेली जनता समक्ष प्रश्न गरेका छन्।
संघीयताको हकमा रास्वपाले गरेको हाकाहाकी ठगीको प्रमाण संघमा उम्मेदवार दिने तर प्रदेशमा नदिने भएको बताउँदै वैशाख १५ गते नै बझाङमा पनि प्रदेश सभाको निर्वाचन रहेको र त्यहाँ रास्वपाको उम्मेदवार नै नभएकोले संघीयता र सहकारीका क्षेत्रमा गरिएका कर्मले पनि रास्वपाको परिचय स्पस्ट झल्केको शर्माले बताएका छन् ।
गत निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रमा आस्था राख्ने नेता कार्यकर्ताले कांग्रेसलाई भोट हालेकाले यसपटक पनि चुनाव चिन्ह रुखमा मतदान गर्न अप्ठेरो नमान्न शर्माले अनुरोध गरे ।
नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवार डम्बर खड्का पहिचानको पक्षमा उभिएकाले पहिचान पक्षधर नेता कार्यकर्ताले पनि रुखमा भोट हाल्न हिच्किचाउनु नपर्ने शर्माले बताए । इलाम २ का अधिकांश मतदाता त्यही मनोविज्ञानमा रहेको शर्माले टिप्पणी गरे ।
शर्माले इलाम २ मा कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने र पहिचानवादी तेस्रो शक्ति बन्ने सम्भावना रहेको बताए । शर्माले नाम नै नलिई नयाँ दललाई मत दिनु अघि गम्भीरतापूर्वक सोच्न मतदातालाई आग्रहसमेत गरेका छन् ।