आज १८ औं लोकतन्त्र दिवस, अझैं जनतामा निराशा

मंगलबार, वैशाख ११, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आज लोकतन्त्र दिवस । आजकै दिन २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मागअनुसार २०५९ मा विघटित संसद पुन:स्थापना गरेको दिन। यहीँ दिनलाई लोकतन्त्र दिवस भनेर भनिन्छ।

जनताको विजय भएको खुशीयालीमा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच २०६२ को मंसिरमा १२ बुँदे समझदारी भएपछि चैतदेखि दोस्रो जनआन्दोलन चर्किएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको १९ दिने उत्कर्षका कारण बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र संसद् पुनःस्थापना गर्न बाध्य भएका थिए । 

उनले संसद्को बैठकसमेत आह्वान गरे । यही दिनलाई लोकतन्त्र दिवस भनिएको हो । २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भयो । 

संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्यो । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । 

यसरी दोस्रो जनआन्दोलनले गणतन्त्रको जग बसालेको भए पनि अहिलेसम्म गणतन्त्र संस्थागत हुन सकेको छैन । संविधानको पूर्णपालना हुन सकेको छैन । विकासले गति लिन सकेको छैन ।  अझै सुशासनको पालना हुन सकेको छैन भने भ्रष्टाचार रोकिन सकेको छैन । त्यससमयदेखि कयौं प्रधानमन्त्री बने कयौं मन्त्री बने तर देश भने उभो गतिमा अझै लाग्न सकेको छैन ।लोकतन्त्र आएको कयौं वर्ष बितिसक्दा पनि जनतामा आशा भन्दा निराशा नै रहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्