पश्चिम नवलपरासीबाट अवैध सामान र तस्करीमा प्रयोग गरिएको जीपसहित दुई जना पक्राउ

सोमबार, वैशाख १०, २०८१
Neuro hospital Nepalgunj

पश्चिम नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिकाबाट लाखौं रुपैयाँको अवैध सामान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रुपले भित्र्याइएको ४ लाख रुपैयाँ बराबरको  डबल ग्रुप कफी मेसिन र कफी बिन ग्रिन्डरसहित बा१८च ५०५३ नम्बरको जीपलाई गाउँपालिकाको वडा नम्बर १ महेशपुर चोकबाट बरामद गरेको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक पन्थीका अनुसार गएराति उक्त अवैध सामानसहित प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित  सिसुवाका  ३४ वर्षीय जीप चालक राज कुमार ताम्राकार र जीपमा सवार सोही स्थानका २९ वर्षीय सुदिप तिमिल्सेनालाई समेत नियन्त्रणमा लिएको हो।

पश्चिम नवलपरासीले बरामद गरेको ४ लाखको कफि मेसिन र १५ लाख रुपैयाँ मूल्यको जीपसहित १९ लाखको सबै सामान र पक्राउ परेका दुबै जनालाई आबश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जनाएको छ। 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्