कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार: अजयबाबु शिवाकोटी

बिहीबार, साउन ४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरण जेल चलान भएका कांग्रेस  केन्द्रीय सदस्य बालकृष्ण खाँडप्रति प्रष्ट हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेतृत्वलाई आग्रह गरेका छन्।

कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै शिवाकोटीले नेतृत्वलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका खाँडप्रति अन्याय भएको हो भने कांग्रेसले सरकार छाड्नु पर्ने बताएका हुन् । 

उनले भने, ‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई अलग अलग आरोपमा पुर्पक्षको लागि थुनामा पठाएको छ। सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ। खाँडप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नु पर्‍यो होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्वन गर्नुपर्छ कि पर्दैन ?’

नेता शिवाकोटीले यसमा कि थुनामा हुने दोषी हुनुपर्‍यो कि थुनामा पठाउने सरकारमा रहेका हाम्रै मन्त्रीहरु पूर्वाग्रही हुनुपर्‍यो । थुनामा रहेका र थुनातर्फ हेरिरहेका दुवैलाई हामीले भ्रममा राख्नुभएन सभापतिज्यू, पार्टीले प्रष्ट भन्नुपर्‍यो ।’

उनले अगाडि भने, ‘यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन । सरकार र साथी मध्ये एक के रोज्ने हो सभापतिज्यू यो बैठकले टुंगो लगाउनुपर्छ। तर मलाई खाने बाघले तलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस् ।’  

नेता शिवाकोटीले कांग्रेस तीन वटै तहमा सरकारमा रहे पनि तत् तत् तहका सरकारमा गएका प्रतिनिधि कांग्रेसका चेहरा भएको बताउँदै ती चेहरा र पार्टीबीच धेरै ठाउँमा समस्या सिर्जना भएको जिकिरसहित मन्त्रीहरुका बारेमा कांग्रेसकै साथीहरुको गुनासो रहेकोसमेत स्पष्ट पारे । 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्