नेपालगन्जबाट अनलाइन सट्टेबाजी खेलाउँदै गरेका १५ जना पक्राउ

१८ थान ल्यापटप र ५६ वटा मोबाइल बरामद
आइतबार, वैशाख ९, २०८१

नेपालगन्ज  । बाँकेमा अनलाइन सट्टेबाजी/जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी/जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो । 

अनलाइन सट्टेबाजी/जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले आज बिहान १ बजे नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाइट भाडामा लिई अनलाइन सट्टेबाजी/जुवा सम्बन्धि काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ । 

पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका-६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा-१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ-६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार छन् । 

यस्तै खोटाङको अइसेलुखर्क-६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा-७ बस्ने २३ वर्षीय राकेश कुमार यादव, पर्साको बिरगंज १४ बस्ने बर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी-८ बस्ने बर्ष ३२ का भास्कर मगर, रुकुम (पश्चिम) को आठबिसकोट-९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट- ४ बस्ने बर्ष २९ को रुपक कोइराला र पर्बतको त्रिबेणी-२ बस्ने बर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्